Sunday, December 27, 2015

(तुर्कमानी लोककथा) बुद्धिमान केटो

(तुर्कमानी लोककथा)
बुद्धिमान केटो

अनुवादक— सरण राई

एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँँग धेरै नोकर  चाकरहरू पनि थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु पर्यो  । सबैजना नाउमा बसेर नदी तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो । नाउ टुक्रा टुक्रा भयो ।
मनिसहरू डुबे । तन्नेरी नोकरह्रूमध्ये एकजना मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी रह्यो । किनारामा पुगेपछि ऊ जता पायो उतै गयो ।
टाढैबाट एउटा नगर देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन् होला ?” डराउदै उसले सोच्यो ।
त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।
”यो के गरेको होला ? यसलाई के सम्झनुपर्ने हो ?” उसले आफ्नो वरिपरी जम्मा भएका मानिसहरूलाई सोध्यो ।
”हाम्रो देशमा यस्तै प्रथा छ”, सेतो दाह्री भएको एक जना भलादमी बूढाले जवाफ दियो, “जब राजाको राज्य अवधि सकिन्छ, र हाम्रो यहाँ यो एक वर्षको हुन्छ, तब राजालाई हामी पहाडतिर लान्छौँ, जहाँ सर्प–बिच्छुहरूको बस्ने ढिस्काहरूले भरिएको खाडलहरू छन्, र उसलाई त्यहाँ सर्प र बिच्छुहरूले टोकेर मर्नका लागि फ्याकि दिन्छौँ । त्यसको ठाउँमा जो नगरको ढोकामा सबैभन्दा पहिला आउँछ, उसैलाई सिंहासनमा  राख्छौँ । यस पटक हामीले तिमीलाई भेट्यो, यसकारण तिमीलाई हाम्रो राजा बनाएका छौँ ।”
“यसको माने यो भयो कि जबसम्म म राजा रहनेछु”, शान्त भएर युवकले सोध्यो, “म जे चाहन्छु गर्न सक्छु ।”
“पक्का हो”, भलादमीले जवाफ दियो, “एक वर्ष सबै तिम्रो हातमा छ ।”
आफ्नो शासनको थालनी नै युवकले त्यो डरलाग्दो पहाडको आक्रमणबाट शुरु गर्यो  । उसले एउटा ठूलो सेना जम्मा ग¥यो र सर्पहरू र बिच्छुहरू मात्र नभएर उसले त्यस पहाडमा भएका सबै हिंस्रक जीवजन्तुहरूलाई सखाप पा¥यो । यसपछि त्यहाँ कुलो खन्ने र बगैचा लगाउने आदेश दियो र त्यहाँ नगर बसायो । जब उसको राज्य गर्ने अवधि समाप्त भयो, मान्छेहरूलाई त्यो डरलाग्दो ठाउँको सम्झना समेत रहेन । मानिसहरूले आफ्नो राजाको काम देखेर उसलाई फेरि छाने । यस प्रकार ऊ धेरै वर्षसम्म बाँच्यो र आफ्नो प्रजाको भलाईको लागि थुप्रै राम्रा कामहरू गर्यो  ।


साभार–‘तुर्कमनी लोक कथाएं’ रादुगा प्रकाशन, मास्को, १९८२ ई.सं.
जुम्ला सदरमुकाम खलंगामा  हिउँ परिरहँदा गन्तव्यतिर लम्किरहेका स्थानीय। तस्बिर : डीबी बुडा Embedded image permalink

( महावाणी ) सुख के हो ?

संकलक–रवीन्द्र वांगड
अनुवादक– सरण राई


* सुखका एउटा ढोका बन्द हुँदा अर्को खुलेको हुन्छ । तर हामी कहिले कही बन्द भएको ढोकालाई यति धेरै समयसम्म हेरिरहन्छौँ कि खुलेको ढोका देख्न सक्तैनौँ ।
                                —हेलेन केलर

* मलाई आश्चर्य लाग्छ कि सुखको मनोकामना गर्नु पनि मेरो दुःखको अटुट भाग भएको छ ।
                —खलील जिब्रान

* सुख दिने कुराहरू पहिले पनि थिए र अहिले पनि छन् । फरक यो छ कि जुन व्यक्ति सुखको मोल पहिले तिर्छ  र त्यसको आनन्द पछि लिन्छ, उसले धेरै स्वाद पाउँछ । जसले सुख सजिलै पाउँछ, उसको निम्ति सुख नै मृत्यु हो ।
—    रामधारीसिंह दिनकर

* मनिसलाई सुखको पीर र अल्सिले चौपट बनाउछ ।
—शौपनहावर

* सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने संकटले महान् मानिसको ।
—प्लिनीद यंगर

* धरतीमा फूलहरू एकअर्कासित इष्र्या गर्दैनन् जबकि उनीहरू एक अर्कोभन्दा सुन्दरता र खुबीहरूले भरिएका हुन्छन् । उनीहरू एक अर्काको छिमेकमा बस्दछन् र एकअर्काको खुबीहरूबाट सुख पाउँछन् ।
—    जेकब बोह्मी

* त्यही मानिस सुखी हुन्छ जो मानसिक अशान्ति बीना साँचो सिद्धान्त र आदर्शमा हिड्दै आफ्नो गन्तव्य तय गर्छ ।
—ऐस्ट्रँज

* सुख असल गुणद्वारा उत्पन्न गर्न सकिन्छ र यसको लागि  यो आवश्यक हुन्छ कि यसको निर्माण सत्यको जगमाथि गरिएको होस् ।
—    काँलरिज

* अरूलाई सुख दिँदा हामी यति धेरै सुख पाउँछौँ कि हामी उसलाई धन्यवाद दिन मन पराउछौँ ।
—    हेनरी द मौतरलां

***
  (स्रोत - नवनीत, वर्ष ३२, अङ्क १२, दिसम्बर, १९८३)Embedded image permalink

(लघु कथा) राखन

लघु कथा
राखन
सरण राई
माइला र माइली आफूसित भएको थोरै जग्गा जमिनमा धेरै परिश्रम गरेर जीवन निर्वाह गरीरहेका थिए | प्रसस्त सम्पति नभए पनि माइलीको हंसमुख स्वाभावले गाउँलेहरु उनीहरुको घरमा अाईरहन्थे | जे जस्तो खाने चिज छ ,खुसी हुदै माइली खान दिन्थिन् |
माइलीको आथित्य सत्कारबाट गाउँलेहरु खुसि हुन्थे र आफुले सकेको मदत गर्न चाहन्थे | माइला भने उसको सबैलाई खान दिने बानी देखि खुसि थिएन | माइली एक्लै भएको बेला भन्थ्यो _ "त्यसरी खाने कुरा नबाँड, हामीलाई नै खाने कुराको अभाव छ |"
रहदै बस्दा उनीहरुको पनि छोरा छोरीहरु जन्मिए , हुर्किए र बिहेवारी गरेर बेग्लाबेग्लै बस्न थाले |
एकदिन सिकिस्त बिरामि भएर माइली परमधाम गईन् | माइला बुदेसकालमा एक्लो भयो | उसलाई हेरचाह गर्ने कोहि थिएन | सकेको बेला पकाएर खान्थ्यो नभए भोकै बस्थ्यो |सार्है भोकाएको बेला भने ऊ गाउँलेहरुको घर जान्थ्यो | जसको घर गएपनि "माइलीले हामीलाई कति खाने कुराहरु दिएकी थिइन् ' भन्दै उसलाई अघाउन्जेल खान दिन्थे |
यस्तो देखेर माइली जीवित हुँदा उसले खाने कुराहरु गाउँलेहरुलाई दिँदा रिसाउने माइला सोच्न पुग्छ ," माइलीले त अनेक खाने कुराहरु गाउँलेहरुलाई बाड़ेकी होइन रहेछ , मेरो लागि पो ति खाने कुराहरु राखन धारनमा राखी छाडेकी रहेछिन्, जो गाउँलेहरुले अहिले मलाई दिई रहेका छन् |"


२०७२ असोज १७ , धरान

(तुर्कमनी लोककथा) भाग्य र स्त्री

तुर्कमनी लोककथा
भाग्य र स्त्री
अनुवादक– सरण राई


एउटा परिवारमा तीनजना बुहारीहरू थिए । उनीहरू खुसी थिए र एक आपसमा मिलेर बसेका थिए । एक दिन उनीहरू सबैको साझा भाग्य जेठी बुहारीकोमा गयो र भन्यो :
“प्यारी, तिमी मसित जे चाहन्छौ माग, किनकि म यहाँबाट जाँदै छु ।”
“ठीक छ”, जेठी बुहारीले भनी “ मलाई धेरै धेरै धन दिनुहोस्, त्यसपछि जता जानु छ जानुहोस् ।”
भाग्यले उसलाई उसले मागे अनुसारको सबै कुरा दियो र माइली बुहारीकोमा गयो ।
“प्यारी”, उसले भन्यो, “ मैले यहाँबाट जानु छ । त्यसकारण बिदा हुनुभन्दा अगाडि जे चाहन्छौ मसँग माग ।”
“ठीक छ,” माइली बुहारीले भनी, “यदि जाँदै हुनुहुन्छ भने मलाई धेरै धेरै पैसा दिनुहोस् ।”
“राम्रो”, भाग्यले भन्यो । उसले माइली बुहारीको इच्छा पूरा गर्यो  र कान्छी बुहारीकोमा गयो ।
“प्यारी, मैले तिम्रो देश छाडेर जानु छ ।” उसले सानो बुहारीलाई सूचना दिँदै भन्यो,“छोड्नुभन्दा पहिला म तिमीलाई तिमीले चाहेको सबै कुरा दिन्छु, सुन चाहन्छौ सुन, चाँदी चाहन्छौ चाँदी ।”
“अपशोस, तपाईँ हामीलाई छाडेर जानु हुँदै छ ।” सानी बुहारीले  साँच्चै दुःखी  भएर भनी, “मलाई न सुन चाहिन्छ, न चादी, न धन । यदि हुनसक्छ भने हामीलाई स्वास्थ्य र मेलमिलाप दिनुहोस् । बाँकि अरु हामी आफै  खोज्नेछौँ ।”
“यदि तिमी यति मात्र मागिरहेकी छ्यौ भने,” भाग्यले भन्यो “मैले अन्त जानुपर्ने आवश्यकता नै रहेन । म सायद सधैंको लागि तिम्रै झुपडिमा नै बसिरहुँला ।”
 ठुला बुहारीहरूले आफ्नो सबै धन खर्च गरेर सके । उनीहरू प्रायजसो सानी कान्छी बुहारीसँग मदत माग्थे र सानो बुहारीले उनीहरूलाइृ कहिल्यै निराश पारीनन् ।

श्रोतः तुर्कमनी लोक कथाएं, रादुगा प्रकाशन, मास्को , सन १९८२



human evolution stages

(प्रेरक प्रसङ्ग) सुकरात र एेना

डा. गोपालप्रसाद ‘वंशी’
अनुवादक– सरण राई



सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आफुसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’

  (नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट)
* * *

(किरात लोककथा) हेछाकुप्पा

(किरात लोककथा)
हेछाकुप्पा
प्रस्तुति – सरण राई

टुहुरो हेछाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले ।
जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले  खोक्ली साक्की (बन तरुल)लाई पाताल भसाई । गिठ्ठा भ्याकुरमा खक्पा(तितो) छर्केर तीतो बनाई । त्यसपछि ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो ।
दिदीहरू बुचुकुलक (माटोको सानो भाडो)मा लोहोरो उसिनी राखेर खानेकुरा खोज्न ठाढा गए । हेछाकुप्पा खाने कुरा पाक्दै छ भन्ने सम्झदै र लोहोरोलाई छाम्दै निकै समय पर्खेर बस्यो । जति पर्खदा पनि नपाकेको देखेर ऊ निराश भएर भोकले लड्यो । लड्दा तातो पानी उसको जीउमा पर्यो  । भोक, निराश र तातो पानीले ऊ मरेझैँ बेहोश भयो ।
दिनभर तायामा र खियामाले  जङ्गलमा खानेकुरा खोज्दाखोज्दा बल्ल बल्ल बनकेरा भेट्टाए । बेलुका घर आउँदा उनीहरूले भाई हेछाकुप्पा मरेको पाए र ज्यादै दुःखी भए ।
तायामा र खियामाले हेछाकुप्पालाई बाहु(बाँस) र केराको पातमाथि राखेर चिहानमा राखे । भाईको शरिरछेउ कर्द र एक कोसा केरा राखि दिए । उनीहरूले भाईको नाममा एक एकवटा फूल रोपेर छुट्टिने सल्लाह गरे ।
दिदी बहिनी आफूले रोपेको फूल बेलामौका हेर्न आउने र त्यसैबाट आफ्नो अवस्था थाहा पाउने सल्लाह गरि रुन थाले । तायामाको आँखाबाट बगेको आँसुले रावाखोला र खियामाको आँखाबाट बगेको आँसुले तावाखोला बन्यो रे । उनीहरूले  नेवालाककला डाँडामा पुगेर चरा  बनी उडेर जाने सल्लाह गरे ।
तायामा डाँडाको टुप्पामा पुगेर धेरै दिन पर्खदा पनि बहिनी खियामा आइ पुगिनन् । केही भयो कि भन्ने शङ्का गरेर तायामा भाईको चिहानसम्म खोज्दै पुगिन् । चिहानमा खियामाले रोपेको फूल ओइलाएको देखेर तायामालाई केही नराम्रो भएको शङ्का लाग्यो  र बहिनीलाई बाटो, जङ्गल सबतिर खोज्न थालिन् ।
“ए रुख ! खियामा कहाँ छिन् " रुखले थाहा नभएको कुरा बतायो । ढुङ्गालाई सोध्दा ढुङ्गा बोलेन । जङ्गलमा होङ्ग्रायोलाई भेटेर तायामाले सोधिन्— “ए होङ्ग्रायो, खियामा कहाँ छे ?’’
होङ्ग्रायो केही बोलेन । तायामाले जिद्दी गरेर सोद्धा होङ्ग्रायो हाँस्यो । हाँस्दा होङ्ग्रायोको मुखभित्र खियामाको केश तायामाले देख्यो । केर्दाकेर्दा होङ्ग्रायोले  खियामालाई  मारेर खाएको स्विकार्यो  ।
“त्यसो भए बहिनीको हाडहरू कहाँ छ ?” भनेर तायामाले सोद्धा रुखको टोडका देखायो । तायामाले बहिनीको हाडखोरहरू जम्मा गरेर नेवालककला डाँडामा पुगेपछि हाडखोरलाई तेलले भिजाइन्  र खरानीपानीसँग  बाँसको ढुङ्ग्रोमा राखिन् । बहिनीको हाडखोर राखेपछि मुन्धुम र रसिया गाउँदै तायामाले तान बुन्न थालिन् । तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन् । जति जति अनुहारको बुट्टा तानमा बनिन्थ्यो, उता खियामाको अनुहार र शरिर हाडखोरमा त्यसै गरी बन्न लाग्यो । तायामाले केही दिनमा खियामाको अनुहार र शरिर बुनिसक्दा होङ्ग्रायोले खाएको खियामा बिउतिन् ।
त्यसपछि तायामा र खियामाले भाईको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले । एकोहोरो गाउँदा गाउँदै  उनीहरू चरा बने । चरा बनेकी तायामा उत्तर लागिन् र हिमालछेउ युच्छुबुङ फूल भएर फुल्न थालिन् । बहिनी खियामा दक्षिणतिर मधेश पुगेर गोआबुङ बनेर फुल्न थालिन् । यसरी तायामा र खियामा मानिस नभएर कहिले चरा कहिले फूल भएर फुल्न थाले । भनिन्छ, असोज महिनातिर लाम्कुचेप्पा झरी परेको बेला युच्छुबुङ फूल मधेश झर्छिन् । युच्छुबुङ फूल र गोआबुङ फूलहरू विगत र भाई हेछाकुप्पाको सम्झना गरेर धेरै धेरै रुन्छन् रे । युच्छुबुङ र गोआबुङको मिलन हुने बेलामा रावाखोला र तावाखोलामा पनि अन्तिम भेल बग्छ रे ।
तायामा र खियामा नेवालाककला डाँडा गए पछि हेछाकुप्पा चिहानबाट बौरियो । बौरिदा एक कोसा केरा र कर्द बाहेक अन्य केही पाएन । उसलाई  भोक लागेको थियो । ऊ चिहानबाट उठेर केरा र कर्द लिएर निस्कियो । बाहिर निस्किए पछि  केरालाई कर्द देखाउदै भन्यो— “ए केरा ! बोट हुन्छस् कि यही कर्दले काटौ ?”
हेछाकुप्पाको कुरा सुने पछि केराको कोसा बोट भयो । उसले फेरि भन्यो— “ए बोट, छिटो पसा, नत्र यही कर्दले छिनाइ दिउला ।”
छिनभरमै केराको बोट पसायो । बोटमा चढेर हेछाकुप्पाले भन्यो— “ए पसाको केरा, छिटो पाक् नत्र यही कर्दले छिनाइ दिउला ।” पसाको केरा तत्कालै पाक्यो । ऊ खुट्टा हल्लाइहल्लाइ केरा खान थाल्यो । जति खाए पनि केरा पसाएको पसाएकै गर्न थाल्यो । हेछाकुप्पा केरा खाइरहेको बेला चाक्लुङधिमा आइपुगी ।
“ए हेछाकुप्पा, मलाई पनि केरा देऊ न ।” उसले केरा टिपेर चाक्लुङधिमालाई  दियो । यही मौका पारेर चाक्लुङधिमाले हेछाकुप्पालाई हात समाती तानी झार्यो  र थुन्सेमा राखेर घरतिर लाग्यो । बाटोमा थुन्से बिसाएर चाक्लुङधिमा दिशा गर्न गई । यही मौकामा हेछाकुप्पा थुन्सेमा ढुङ्गा राखि भाग्यो । घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङधिमा फेरि केराको बोट भएको ठाउँ पुगी । त्यहाँ हेछाकुप्पा खुट्टा हल्लाईहल्लाई केरा खाइरहेको थियो ।
“ए बाबु मलाई पनि केरा देऊ न ।” चाक्लुङधिमाको कुरा सुनेपछि हेछाकुप्पाले भन्यो— “तँ राक्षसनीलाई दिन्नँ ।”
“त्यसो नभन न । म भोकले मर्न आँटे ।” चाक्लुङधिमाले आँसु खसाई । केटाकेटीको मन न हो, पग्ल्यो र एक कोसा केरा भुँइमा फ्याकि दियो । चाक्लुङधिमाले भुँइमा झरेको केरा खान मानिन ।
“हेर बाबु, भुँइमा झरेको खाने कुरा म कहिल्यै खान्नँ । हातैले देऊ न ।”
“निकै बाठी हुन खोज्छेस् । फेरि समातेर लैजाउला भन्दी होस् ।” हेछाकुप्पाको कुरा सुनेपछि चाकलुङधिमाले भनी—“तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ  न ।” हेछाकुप्पाले खुट्टामा केरा राखेर दिदा चाकलुङधिमाले समातेर उसलाई घर पुर्यायो  । घरमा  छोरीलाई बोलाएर भनी— “ए श्रीथुङमा, मीठो शिकार ल्याएको छु । पकुवा बनाउनु । म तेरा मामाहरूलाई बोलाएर ल्याउछु ।” चाकलुङधिमा माइतीघरतिर लागी ।
श्रीथुङमाले खडकुलोमा पानी उमाल्न थाली । खुकुरी ल्याएर हेछाकुप्पालाई थुन्सेबाट निकाली मार्न लाग्दा हेछाकुप्पाको घुङरिएको केश देखेर सोधी— “ए केटा, कसरी तेरो यति राम्रो केश भयो हँ ?” हेछाकुप्पाले आफु उम्कने यही मौका हो भन्ने सोचेर भन्यो— “ उम्लिएको तेल टाउकोमा खन्याउनु पर्छ । यस्तो भइहाल्छ नि ।”
दुवैले मिलेर तेल उमाले । श्रीथुङमा पिरामा बसी । भकभक उम्लिएको तेल हेछाकुप्पाले श्रीथुङमाको तालुमा खनाइ दियो । श्रीथुङमा तत्कालै मरी ।
हेछाकुप्पाले श्रीथुङमाको कपडा ओड्यो ।  श्रीथुङमाको लाश टुक्रा टुक्रा पारेर मासु पकायो । चाकलुङधिमा माइतीहरूलाई लिएर आइपुगी । उसले श्रीथुङमालाई बोलायो । तलामाथिबाट हेछाकुप्पा श्रीथुङमाकोजस्तो स्वर बनाएर बोल्यो ।
 चाकलुङधिमा ढोकाछेउको डुँडको रगत पिएर मात्यो । माइतीहरूलाई मासु खान दियो । माइतीहरूपनि मासुले मात्न थाले । केही बेरपछि माइतीहरू आफ्ना घर गए । चाकलुङधिमा भने मातेर सुत्यो । यही मौकामा बदला लिन पर्यो  भन्ने सोचेर हेछाकुप्पा केश कोर्ने थाँक्रो, कोदोको पिठो र अण्डा  गोजीमा राखेर चाकलुङधिमाको आँखामा खोटो टाँसि घरको धुरीमा चढ्यो र कराईकराई भन्न थाल्यो— “छाओ सा चाकाबा (छोरीको मासु खाने), छाओ सा चाकाबा ।”
यो सुनेर चाकलुङधिमालाई छोरीको मासु खाएको शङ्का लाग्यो र आँखा खोल्न खोज्यो । आँखा खोलिएन । उसले कोङबी(खुर्पा)ले आँखा ताछी, आँखा खोलियो तर दुवै आँखाबाट रगत बग्न थाल्यो । चाकलुङधिमालाई रिस उठ्यो र हेछाकुप्पालाई खान धुरी चढी । हेछाकुप्पा उसलाई जिस्काउदै हाम फाल्यो र भाग्यो । चाकलुङधिमा लखेट्न थाली ।
हेछाकुप्पालाई चाकलुङधिमाले भेट्न भेट्न आटेको बेला उसले थाँक्रो फ्याकि दियो । थाँक्रो घनघोर जङ्गल भयो । यही मौकामा हेछाकुप्पा धेरै पर पुग्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । धेरै दिनपछि चाकलुङधिमाले भेट्न भेट्न आँटी । हेछाकुप्पाले कोदोका पीठो फ्याकि दियो । कोदोका पीठो हुस्सु कुहिरो भयो । हुस्सु कुहिरोभित्र चाकलुङधिमा अलमलिइ रही । हेछाकुप्पा भागेर टाढा पुग्यो । चाकलुङधिमालाई त्यो हूस्सु कुहिरो छिचोल्न सात रात सात दिन लाग्यो ।
सात दिन पछि चाकलुङधिमा हेछाकुप्पा भए ठाउँ  आइपुगी । हेछाकुप्पा भाग्न थाल्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । फेरि पनि भेट्न भेट्न आँटी । यही समयमा हेछाकुप्पाले अण्डा गोजीबाट निकालेर चाकलुङधिमापट्टि फर्काएर फुटायो । फुटेको अण्डाबाट सुनकोशी बन्यो । अब हेछाकुप्पा सुनकोशी पारि, चाकलुङधिमा सुनकोशी वारि भए । पारिबाट हेछाकुप्पाले जिस्काउदै भन्यो—“छाओ सा चाकाबा, छाओ सा चाकाबा ।”
रिसको झोकमा चाकलुङधिमाले सुनकोशीमा हाम फाली । सुनकोशीले उसलाई बगाएर लग्यो । हेछाकुप्पाले बल्ल सन्चोको स्वास फेर्यो  ।

चाकलुङधिमालाई बगाएपछि हेछाकुप्पा आफ्नो घर गयो । घरमा कोही थिएन । ऊ  एक्लै बस्न थाल्यो । कहिले माछा मार्न कहिले शिकार खेल्न जान्थ्यो । मारेर ल्याएको माछा शिकार एक्लै खान्थ्यो ।
एक दिन हेछाकुप्पा माछा मार्न जाल लिएर खोला गयो  । उसले खोलामा जति पल्ट जाल हान्दा पनि एउटा चिल्लो ढुङ्गा मात्र पर्थ्यो । जति पल्ट फ्याकि दिए पनि उही ढुङ्गा परेपछि त्यस ढुङ्गालाई फुर्लुङ्गमा राखेर घर ल्यायो र चुल्लाको माथिल्लो भारमा राख्यो ।
अघिल्लो दिन माछा नपरेकोले भोलिपल्ट हेछाकुप्पा शिकार खेल्न गयो । घर आउँदा भातभान्सा सबै ठीक पारेर राखेको पायो । हेछाकुप्पालाई अचम्म लाग्यो । तर दिनदिनै हेछाकुप्पा शिकार खेलेर वा माछा मारेर आउँदा उसको घरधन्दा सबै ठीकठाक हुन्थ्यो । घरमा यस्तो पाएपछि उसले सोध्यो— “यसरी मेरो घरमा काम गर्ने को हो र ?”
कोठेबारीमा जङ्गलबाट आएको बादरनी बुढीले यो सुनेर  बसीबसी खान पाइने आशामा जवाफ दिइृ— “मैले हजुर ।”
 हेछाकुप्पाले बादरनीलाई घरमा बस्ने अनुमति दियो । हेछाकुप्पा सधै झैँ जङ्गल र खोला जान थाल्यो । घरमा बसेकी बादरनीले कोठेबारीमा बसेर घरभित्र कसले घरधन्दा गर्दो रहेछ भन्ने चियो गर्न थाली । यसरी चियो गर्दा उसले भारबाट ढुङ्गा खसेको देखी । केही छिनमा त्यो ढुङ्गाबाट उसै उसै राम्री केटी बनेको र त्यस केटीले घरको सबै धन्दाहरू एकै छिनमा सिध्दाई फेरि उही ढुङ्गा भई भारमाथि गएको देखी ।
बेलुका हेछाकुप्पालाई बादरनीले सबै कुरा भनी । हेछाकुप्पाले बादरनीलाई सोध्यो— “उसो भए उपाय बताऊ , अब कसरी उसलाई पक्रने  ?”
“भोलि शिकार खेल्न गएजस्तो गरी मान्द्रोले बेरिएर कुनामा लुक्नुहोस । म सदाजस्तै कोठेबारी जान्छु । त्यही बेला ढुङ्गा खसेर केटी बन्छे  र भान्साको काम गर्न थाल्छे । यसै बेला पछाडिबाट पक्रनुहोस् ।” बादरनी बुढीको कुरा हेछाकुप्पालाई मन पर्यो  ।
भोलि हेछाकुप्पा शिकार खेल्न गएजस्तो गरेर मान्द्रोले बेरिएर कुनामा लुक्यो । बादरनी कोठेबारी चर्न गई । यही मौकामा भारबाट ढुङ्गा झर्यो  । केही बेरमै ढुङ्गाबाट केटी बन्यो  र सदाझै काम गर्न थाली । यही मौकामा हेछाकुप्पाले केटीको कम्बरमा पछाडिबाट पक्रियो । यसरी पक्रिदा केटी झस्कि र भन्न थाली— “लेवा खासाङ्ने (छोड्नुहोस् ) ।”
हेछाकुप्पा केटीलाई हेरेको हेरै भयो । केटी असाध्य राम्री थिई । उसले केटीलाई छोड्दै छोडेन । केटी एकोहोरो भन्दै थिई— “लेवा खासाङ्गने ।”
“तिमी को हौ र?”
     “म रिनाह्वा ह । छोड्नुहोस् भन्या । मेरो कम्बर दुखिरहेछ । जालबाट निकाल्दै फाल्नु भएकोले मेरो सबै जीउ दुखेको दुख्यै छ ।” त्यसपछि प्रेमपूर्वक रिनाह्वालाई छोडि दियो । हेछाकुप्पाले छोएको हुँदा रिनाह्वा फेरि ढुङ्गा हुन सकिन ।
 दुवैले मन परापर गरेको थाहा पाएपछि बादरनीले घरजम गर्ने सल्लाह दिई । दुवै सँगसँगै बस्न थाले । रहदा बस्दा रिनाह्वाले छोरा पाई ।
हेछाकुप्पाले अर्को घर बनाउन जग बनाउन थाल्यो र रिनाह्वालाई  मूल थाम काट्न पठायो । रिनाह्वाले कस्तो खॉबो ल्याउने भनेर सोधिन् । हेछाकुप्पाले माछाको वा चिबेको पुच्छरजस्तो ल्याउनु भन्यो ।
रिनाह्वाले खॉबो ल्याइन् । हेछाकुप्पाले खॉबो राख्ने दुलोमा खॉबो गाड्दा दुलोभित्र पस्दै पसेन । यसो किन भयो भनेर हेर्दा दुलोभित्र आफ्नो छोरा पसेर मरिसकेको रहेछ ।
 हेछाकुप्पा र रिनाह्वालाई  पीर पर्यो । उनीहरूले  अपसगुन किन भयो  भन्नेबारे मामालाई सोध्ने निधो गरे । रिनाह्वाको सल्लाह अनुसार हेछाकुप्पा कुखुराको भाले चढेर मावली गयो ।
हेछाकुप्पा मावली घर पुग्दा सुनकोशीले बगाएको  चाकलुङधिमा नोकर्नी भएर काम गरिरहेकी रहिछ । उसले मामाहरूलाई चाकलुङधिमा राक्षसनी भएको कुरा बतायो । मामाहरूले उसलाई खाजाको पोको  दिएर घरबाट निकालिदिए ।
चाकलुङधिमा रुँदैरुँदै गई । बाटामा उसले खाजा पोकोबाट निकाली । खाजाबाट एकाएक बाघ, भालु, सिंहजस्ता जनावरहरू निस्किए र  चाकलुङधिमालाई खाइ मार्यो । चाकलुङधिमाको भुइँमा झरेको रगतबाट भुसुना, लामखुट्टे, उपियॉ  , जुकाजस्ता किराहरू बने । यसभन्दा अगाडि यस्ता किराहरू थिएनन् । राक्षसनीको रगतबाट बनेको हुँदा नै यी किराहरूले मानिसको रगत खान थालेका हुन् भनिन्छ ।
हेछाकुप्पाले मामाहरूलाई आफ्नो छोरा मरेको कुरा सुनायो । मामाहरूले ‘विवाहको विधि नपुर्याई   छोरा जन्मिएको हुँदा त्यसो भएको हो, त्यसैले विधिपूर्वक विवाह गर्नू’ भनी सल्लाह दिए ।
यो सल्लाह पाएपछि हेछाकुप्पाले घर फर्किने विचार गर्यो  । फर्कन लाग्दा उसलाई मामाहरूले खाजाको पोका दिए । ऊ कुखुराको भाले चढेर घर फर्कियो । बाटामा खाजा खान उसले पोका खोल्यो । त्यो  खाजाको ठाउँमा अपार धनसम्पत्ति थियो । त्यो धनसम्पत्ति लिएर हेछाकुप्पा घर फर्कियो ।
हेछाकुप्पाले सबैकुरा रिनाह्वालाई बतायो । त्यसपछि मामाहरूको सल्लाह अनुसार उनीहरूको विवाह हुने भयो । भनिन्छ, त्यसै समयदेखि किरातहरूको विवाहमा मावलीहरूको सरसहयोगको भुमिका हुन थालेको हो रे ।
हेछाकुप्पाले दिदीहरू तायामा र खियामालाई पनि सम्झियो । उनीहरू अवश्य जिउँदै हुनुपर्छ भन्ने लागेर हेछाकुप्पाले लोलोवेङमालाई चारैतिर खबर गर्न पठायो । तर लोलोवेङमाले खबर ल्याउन सकेन । त्यसपछि यो कामको जिम्मा भालेलाई  दियो । कुखुराको भाले नेवालाककला डॉडामा पुगेर उत्तर र दक्षिण फर्किएर बास्न थाल्यो ।
“कुकुरिका ... हेछाकुप्पाआ  लामियान्, बुत्तियाङ (हेछाकुप्पाले खोज्दैछन्, बोलाउदैछन् )।” उत्तर हिमालछेउ युच्छुबुङ भएकी तायामाले र मधेसमा  गोआबुङ  भएकी खियामाले भालेको स्वर सुने । फूल भएका तायामा र खियामा भालेको स्वर  सुनेपछि चरा भएर नेवालाककला डॉडामा आए ।
भालेको पछि पछि चरा भएका तायामा  र खियामा  उड्दै उड्दै  हेछाकुप्पाको घरमा आए ।
भाईको विवाह हुने देखेर तायामा र खियामा खुशीले रुन थाले । हेछाकुप्पाले उनीहरूलाई घरभित्र आउन बोलाए । तर दिदीहरू चरा बनिसकेकोले घरभित्र आउन मानेनन् । माइती हेछाकुप्पाले चेलीहरूको लागि विशेष सत्कारपूर्वक कटेरा बनाइदियो । भनिन्छ त्यसै समयदेखि किरातहरूको विवाहमा छोरीचेलीहरूलाई विशेष सम्मानसाथ बाहिर राखिएको रे ।
हेछाकुप्पाको विवाहमा मावलीहरूले सरसल्लाह र धनसम्पत्ति दिएर मद्दत गरे । विवाह धुमधामसँग सम्पन्न भयो । विवाहपछि सबै घर गए । तायामा र खियामा पनि माईतीको विवाहपछि कहिल्यै नआउने गरी उडेर आ–आफ्नो ठाउँ  गए । भनिन्छ, यसै समयदेखि उनीहरू फेरि कहिल्यै आएनन् ।
हेछाकुप्पा र रिनाह्वाको जीवन आनन्दपूर्वक बित्यो । उनीहरु  धनसम्पत्ति र मानप्रतिष्ठाले भरिपूर्ण भए । भनिन्छ, यो पृथ्वीमा हेछाकुप्पाले लामो समय प्रतिष्ठापूर्वक शासन गरे रे ।
***

Saturday, December 26, 2015

(बाल कविता) बालक

 (बाल कविता)
बालक


सरण राई


आजको बालक
भोलि राष्ट्र चालक
सही मार्ग निर्देशन
भावी विश्व उत्थान

सानो बालक
भोेलि युग चालक
युगहरूका सुन्दर युग
बालक, छिट्टै त्यहाँ  पुग

फूलको कोपिला
झलमल्ल उज्यालो होला
माधुर्य र सौन्दर्यको प्याला
पिउने पनि बालक चोला

बालक भए बेश
बन्नेछ सुन्दर देश
रमणीय परिवेश
हसिलो रसिलो सन्देश

बालक जहाँ  प्रफुल्ल
बन्छ मुलुक झलमल्ल !