Wednesday, January 20, 2016

(किरात लोककथा) आगो र पानी

आगो र पानी

संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

तागेरा निङवाफुमाङले सम्पूर्ण प्राणीहरूको भलाईका लागि आगो र पानीको सृष्टि गरे । एकदिन आगो र पानीको बीचमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो ।
आगोले पानीलाई भन्यो— “तँभन्दा म ठूलो हुँ, किनभने म संसारलाई डढाउन सक्छु । तेरोभन्दा मेरो शक्ति ठूलो छ ।”
पानीले पनि आगोलाई भन्यो— “तँभन्दा म ठूलो हुँ , किनभने म संसारलाई डुबाउन सक्छु । तँलाई समेत निभाउन सक्छु ।”
त्यसपछि फेरि आगोले पानीलाई भन्यो— “तँ बढि के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो, उसलाई भनेर खडेरी  पारी दिन्छु । तेरो मुहान नै सुकाइदिन्छु । समुद्र पनि सुकाइ दिन्छु ।”
यसरी वादविवाद चलेपछि पानीलाई आगोसित साह्रै रिस उठ्यो र आगोलाई एकै छाक बनाइदिन्छु भन्दै लखेट्न थाल्यो । आगो भाग्दै गयो , पानीले लखेट्दै गयो । अन्तमा आगोले  दलसिङ ढुङ्गाको छेउमा पुगेर भन्यो— “पानीले मलाई लखेट्दै छ र मलाई मार्न आँट्यो । तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाई मेरो ज्यान बचाईदेऊ । त्यसवापत म तिमीलाई वरदान दिन्छु ।”
दलसिङ ढुङ्गाले आगोलाई सोध्यो— “ के वरदान दिन्छौ ?”
आगोले दलसिङ ढुङ्गालाई जवाफ दियो— “तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाएर मेरो ज्यान बचाई दियौ भने म तिमीलाई तीनवटा वरदान दिनेछु । पहिलो वरदान तिमी पृथ्वीमा आगोको माउ भई रहनेछौ । चकमक वा फलामको टुक्रा  तिमीसित जुधाएमा वा ठोकाएमा  आगोको झिल्का निकाल्न सक्नेछौ । दोस्रो वरदान नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा बोक्सी डायनीहरूलाई भगाउन सक्नेछ । तेस्रो वरदान प्रेतात्माहरूलाई नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा ती प्रेतात्माहरूलाई  भगाउन सक्नेछ ।”
यस्ता वरदान पाउने भएपछि दलसिङ ढुङ्गाले आगोलाई आफ्नो शरीरभित्र नदेखिने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आईपुग्यो तर आगोलाई देखेन । त्यसपछि पानी दलसिङ ढुङ्गालाई छोप्दै बगेर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगो बाँच्यो ।
त्यसरी दलसिङ ढुङ्गाले आगोलाई बचाएकोले वरदान पायो । आज भोलि पनि मानिसहरूआगो चाहिएको बेला चकमक र दलसिङ ढुङ्गा जुधाएर आगो पार्छन् । नाकझोङ, धामी, येवा, बिजुवाले दलसिङ ढुङ्गा हातमा लिई मन्तरेर  बोक्सी डायनीहरू, प्रेतात्माहरूलाई हान्ने गर्छन् ।

***
रारा ताल
Embedded image permalink

Saturday, January 16, 2016

(किरात लोककथा) माङदुङलेङमा

किरात लोककथा
माङदुङलेङमा
संकलन — वर्तमान
संक्षेपिकरण— सरण राई
उहिले किरात वस्तीमा एकजना जालाहारी बस्थ्यो । माछा मार्नु अनि बजारमा माछा बेचेर जीवन गुजारा गर्नु उसको पेशा थियो । ऊ दयालु भएकोले छरछिमेकीहरूलाई माछा बाड्थ्यो । सबैसँग राम्रो व्यवहार गर्ने हुनाले उसलाई सबैले मन पराउथे । तर त्यसको ठीक विपरित उसकी स्वास्नी टुमाउटी, झगडालु, कुरौटी र चिच्चा थिई । कहिले कसैलाई केही पनि दिन्नथि । उसको यस्तो बानीबेहोराले उसले सबैलाई शत्रु बनाएकी थिई ।
रातदिन खोलामा माछा मारीरहने हुँदा आफ्नी स्वास्नीको यस्तो बानीबेहोरा जालाहारीलाई थाहा थिएन । ऊ बजार जान नसकेको दिन उसकी स्वास्नी बजार जान्थी । नबिकेको माछा बाड्नुको सट्टा कुहाएर सुँगुर र कुख्रालाई दिन्थी ।
रातदिन पानीमा भिजेर कडा काम परिश्रमले गर्दा जालाहारी बिरामी भयो । बिरामी भएको थाहा पाएर छिमेक र गाउँलेहरू उसलाई भेट्न आए । तर उसकी पत्नीले आँगनबाटै सबैलाई फर्काउथी । अब गाउँलेहरू भेट्न आउँन छाडे । जालाहारीको मृत्यु भयो ।
जलाहारीको मृत्यु भएको गाँउलेहरूले थाहा पाए तर कोही मलामी आएनन् । जालाहारीकी स्वास्नी रुनकराउन थाली तर गुहार माग्न जान सकिन । गाउँलेहरू आज आउलान्, भोलि आउलान् भन्दाभन्दै लास कुहिन थाल्यो । स्वास्नीले लासलाई डोको र जालले छोपी । (लास कुहेर त्यहाँ च्याउँ उम्रियोभने उसको आत्मा माङदुङलेङमा भएर रह्यो । आजभोलि पनि त्यस खाले च्याउँ पाइन्छ जुन च्याउँ डोको र जालले छोपिएकोजस्तो हुन्छ ।)
आफ्नो लास उठाउन कोही आउँछ कि भनेर माङदुङलेङमा लेङ लेङ लेङ... गर्दै कराउँन थाल्यो । तर कोही नआएपछि माङदुङलेङमा कराउँदाकराउँँदै जङ्गल पस्यो, जङ्गलमा पनि कराउन छाडेन ।
माङदुङलेङमा कराउँदाकराउँदै आफ्नो लास उठाउन कोही आउँछ कि भनेर बीच बीचमा अडिएको हो भनिन्छ । यो किरा साउन–भदौतिर कराउँनु र कराउँदाकराउँदै रोकिनुप्रति किरातहरू यही कुरालाई विश्वास गरेर कथा भन्ने गर्छन् ।
२०७२ माघ ३, धरान
साभार— हेछाकुप्पा (किरात लोककथा) , नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (२०५७)
http://pyaarosansaar.blogspot.com/

Friday, January 1, 2016

(किरात लोककथा) ठूब्यूमा चरी

किरात लोककथा
ठूब्यूमा  चरी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

उहिले माझकिराँतमा ठूब्यूमा नाम गरेकि अत्यन्त राम्री तरुनी थिइन् । तिनको एकजना युवकसँग विवाह भयो । त्यो युवकको सातजना दाजु भाई थिए र विवाहपछि ठूब्यूमाको सातजना जेठानी–देउरानी भए ।
 ती सातजना जेठानी–देउरानीका एक एकवटा छोरी थिए भने ठूब्यूमाको चाहीँ छोरा जन्मेको थियो । त्यसैले जेठानी–देउरानीहरू ठूब्यूमाको छोराप्रति साह्रै ईष्र्या र रिस गर्दथे ।
एकदिन ठूब्यूमाको जेठानी–देउरानीहरूले सल्लाह गरेर ठूब्यूमालाई भने “नानीको आमा भएकोले हामी सफा सुग्घर भएर बस्न पाउँदैनौँ , सधैं फोहोरी देखिन्छौँ । त्यसकारण दिसा पिसाब फोहोर मैला गर्ने नानीहरूलाई खोलामा बगाई दिऊँ । अनि हामी सबै सफा सुग्घरसँग बसौँ ।’’
जेठानी–देउरानीहरूको कुरामा ठूब्यूमाले पनि सही थापिन् । एकदिन ठूब्यूमा र तिनका सातजना जेठानी–देउरानीहरू आ–आफ्ना नानीहरू बगाउन खोलामा गए ।  ठूब्यूमाले आफ्नो नानीलाई गुन्द्रीमा बेरेर लगिन् र खोलामा बगाइन् ।  तिनका सातजना जेठानी–देउरानीहरूले भने थाङ्नाको बालक बनाई गुन्द्रीमा बेरेर लगेका थिए र त्यसलाई बगाए । त्यसबेला ठूब्यूमाले जेठानी–देउरानीहरूले कपट गरेको कुरा थाहा पाउँन सकिनन् ।
घर फर्केर आएपछि हेर्दा ठूब्यूमाले आफ्ना जेठानी–देउरानीहरूका नानीहरू कोक्रोमा खेलिरहेका देखिन् । आफ्नो छोरालाई खोलामा बगाएकोमा ठूब्यूमालाई ठूलो पश्चात्ताप भयो र “सिब्यू ! सिब्यू ! सिब्यू ! (नानी  ! नानी ! नानी  ! )’’ भन्दै रुँदै हिड्न थालिन् ।
ठूब्यूमाले बगाएको छोरालाई खोलाले बगाएर एउटा ठूलो दहमा पु¥यायो र धेरै दिनसम्म त्यही डुबि रह्यो । दहका पानी सङलो थियो । ठूब्यूमा प्रत्येक दिन आफ्नो छोरा हेर्न त्यस दहमा जान्थिन् र धेरै बेरसम्म छोरालाई हेर्थिन् । फर्कदा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै आउथिन् ।
यसरी धेरै दिन बितेपछि वर्ष लाग्यो र पानी प¥यो । ठूलो बाढी आयो र ठूब्यूमाको छोरालाई बाढीले बगाइ लग्यो । भोलिपल्ट पानी धमिलो भएको  र छोरालाई समेत बाढीले बगाइ सकेकोले आफ्नो छोरालाई ठूब्यूमाले  देख्न पाइनन् । यसरी आफ्नो छोरालाई नदेखेपछि ठूब्यूमा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै कराउँदै घर फर्किन् र त्यही रात प्राण त्यागिन् ।
अर्को जन्ममा ठूब्यूमा चरी भएर जन्मिन् । आजभोलि पनि जब जब पानी पर्छ र बाढीले खोला धमिलो हुन्छ त्यो चरी “सिब्यू  चुक चुक ( नानी छोरा ज्याहै ज्याहै)’’ भन्दै कराउँछे  । यसरी आज पनि त्यो चरी कराउँदा नानीहरूको सातो जान्छ भन्ने माझकिराँतमा विश्वास गरिन्छ । त्यसैले ठूब्यूमा चरीलाई ‘सातो बोक्ने चरी’ भन्ने प्रचलन  आज पनि रहेको छ ।

साभार— किराँती लोककथा सँगालो
२०७२ पौष १७ (जनवरी १ , १०१६)