Wednesday, January 20, 2016

(किरात लोककथा) आगो र पानी

आगो र पानी

संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

तागेरा निङवाफुमाङले सम्पूर्ण प्राणीहरूको भलाईका लागि आगो र पानीको सृष्टि गरे । एकदिन आगो र पानीको बीचमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो ।
आगोले पानीलाई भन्यो— “तँभन्दा म ठूलो हुँ, किनभने म संसारलाई डढाउन सक्छु । तेरोभन्दा मेरो शक्ति ठूलो छ ।”
पानीले पनि आगोलाई भन्यो— “तँभन्दा म ठूलो हुँ , किनभने म संसारलाई डुबाउन सक्छु । तँलाई समेत निभाउन सक्छु ।”
त्यसपछि फेरि आगोले पानीलाई भन्यो— “तँ बढि के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो, उसलाई भनेर खडेरी  पारी दिन्छु । तेरो मुहान नै सुकाइदिन्छु । समुद्र पनि सुकाइ दिन्छु ।”
यसरी वादविवाद चलेपछि पानीलाई आगोसित साह्रै रिस उठ्यो र आगोलाई एकै छाक बनाइदिन्छु भन्दै लखेट्न थाल्यो । आगो भाग्दै गयो , पानीले लखेट्दै गयो । अन्तमा आगोले  दलसिङ ढुङ्गाको छेउमा पुगेर भन्यो— “पानीले मलाई लखेट्दै छ र मलाई मार्न आँट्यो । तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाई मेरो ज्यान बचाईदेऊ । त्यसवापत म तिमीलाई वरदान दिन्छु ।”
दलसिङ ढुङ्गाले आगोलाई सोध्यो— “ के वरदान दिन्छौ ?”
आगोले दलसिङ ढुङ्गालाई जवाफ दियो— “तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाएर मेरो ज्यान बचाई दियौ भने म तिमीलाई तीनवटा वरदान दिनेछु । पहिलो वरदान तिमी पृथ्वीमा आगोको माउ भई रहनेछौ । चकमक वा फलामको टुक्रा  तिमीसित जुधाएमा वा ठोकाएमा  आगोको झिल्का निकाल्न सक्नेछौ । दोस्रो वरदान नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा बोक्सी डायनीहरूलाई भगाउन सक्नेछ । तेस्रो वरदान प्रेतात्माहरूलाई नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा ती प्रेतात्माहरूलाई  भगाउन सक्नेछ ।”
यस्ता वरदान पाउने भएपछि दलसिङ ढुङ्गाले आगोलाई आफ्नो शरीरभित्र नदेखिने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आईपुग्यो तर आगोलाई देखेन । त्यसपछि पानी दलसिङ ढुङ्गालाई छोप्दै बगेर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगो बाँच्यो ।
त्यसरी दलसिङ ढुङ्गाले आगोलाई बचाएकोले वरदान पायो । आज भोलि पनि मानिसहरूआगो चाहिएको बेला चकमक र दलसिङ ढुङ्गा जुधाएर आगो पार्छन् । नाकझोङ, धामी, येवा, बिजुवाले दलसिङ ढुङ्गा हातमा लिई मन्तरेर  बोक्सी डायनीहरू, प्रेतात्माहरूलाई हान्ने गर्छन् ।

***
रारा ताल
Embedded image permalink

No comments:

Post a Comment