Sunday, December 27, 2015

(तुर्कमनी लोककथा) भाग्य र स्त्री

तुर्कमनी लोककथा
भाग्य र स्त्री
अनुवादक– सरण राई


एउटा परिवारमा तीनजना बुहारीहरू थिए । उनीहरू खुसी थिए र एक आपसमा मिलेर बसेका थिए । एक दिन उनीहरू सबैको साझा भाग्य जेठी बुहारीकोमा गयो र भन्यो :
“प्यारी, तिमी मसित जे चाहन्छौ माग, किनकि म यहाँबाट जाँदै छु ।”
“ठीक छ”, जेठी बुहारीले भनी “ मलाई धेरै धेरै धन दिनुहोस्, त्यसपछि जता जानु छ जानुहोस् ।”
भाग्यले उसलाई उसले मागे अनुसारको सबै कुरा दियो र माइली बुहारीकोमा गयो ।
“प्यारी”, उसले भन्यो, “ मैले यहाँबाट जानु छ । त्यसकारण बिदा हुनुभन्दा अगाडि जे चाहन्छौ मसँग माग ।”
“ठीक छ,” माइली बुहारीले भनी, “यदि जाँदै हुनुहुन्छ भने मलाई धेरै धेरै पैसा दिनुहोस् ।”
“राम्रो”, भाग्यले भन्यो । उसले माइली बुहारीको इच्छा पूरा गर्यो  र कान्छी बुहारीकोमा गयो ।
“प्यारी, मैले तिम्रो देश छाडेर जानु छ ।” उसले सानो बुहारीलाई सूचना दिँदै भन्यो,“छोड्नुभन्दा पहिला म तिमीलाई तिमीले चाहेको सबै कुरा दिन्छु, सुन चाहन्छौ सुन, चाँदी चाहन्छौ चाँदी ।”
“अपशोस, तपाईँ हामीलाई छाडेर जानु हुँदै छ ।” सानी बुहारीले  साँच्चै दुःखी  भएर भनी, “मलाई न सुन चाहिन्छ, न चादी, न धन । यदि हुनसक्छ भने हामीलाई स्वास्थ्य र मेलमिलाप दिनुहोस् । बाँकि अरु हामी आफै  खोज्नेछौँ ।”
“यदि तिमी यति मात्र मागिरहेकी छ्यौ भने,” भाग्यले भन्यो “मैले अन्त जानुपर्ने आवश्यकता नै रहेन । म सायद सधैंको लागि तिम्रै झुपडिमा नै बसिरहुँला ।”
 ठुला बुहारीहरूले आफ्नो सबै धन खर्च गरेर सके । उनीहरू प्रायजसो सानी कान्छी बुहारीसँग मदत माग्थे र सानो बुहारीले उनीहरूलाइृ कहिल्यै निराश पारीनन् ।

श्रोतः तुर्कमनी लोक कथाएं, रादुगा प्रकाशन, मास्को , सन १९८२



human evolution stages

No comments:

Post a Comment