Wednesday, January 20, 2016

(किरात लोककथा) आगो र पानी

आगो र पानी

संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

तागेरा निङवाफुमाङले सम्पूर्ण प्राणीहरूको भलाईका लागि आगो र पानीको सृष्टि गरे । एकदिन आगो र पानीको बीचमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो ।
आगोले पानीलाई भन्यो— “तँभन्दा म ठूलो हुँ, किनभने म संसारलाई डढाउन सक्छु । तेरोभन्दा मेरो शक्ति ठूलो छ ।”
पानीले पनि आगोलाई भन्यो— “तँभन्दा म ठूलो हुँ , किनभने म संसारलाई डुबाउन सक्छु । तँलाई समेत निभाउन सक्छु ।”
त्यसपछि फेरि आगोले पानीलाई भन्यो— “तँ बढि के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो, उसलाई भनेर खडेरी  पारी दिन्छु । तेरो मुहान नै सुकाइदिन्छु । समुद्र पनि सुकाइ दिन्छु ।”
यसरी वादविवाद चलेपछि पानीलाई आगोसित साह्रै रिस उठ्यो र आगोलाई एकै छाक बनाइदिन्छु भन्दै लखेट्न थाल्यो । आगो भाग्दै गयो , पानीले लखेट्दै गयो । अन्तमा आगोले  दलसिङ ढुङ्गाको छेउमा पुगेर भन्यो— “पानीले मलाई लखेट्दै छ र मलाई मार्न आँट्यो । तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाई मेरो ज्यान बचाईदेऊ । त्यसवापत म तिमीलाई वरदान दिन्छु ।”
दलसिङ ढुङ्गाले आगोलाई सोध्यो— “ के वरदान दिन्छौ ?”
आगोले दलसिङ ढुङ्गालाई जवाफ दियो— “तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाएर मेरो ज्यान बचाई दियौ भने म तिमीलाई तीनवटा वरदान दिनेछु । पहिलो वरदान तिमी पृथ्वीमा आगोको माउ भई रहनेछौ । चकमक वा फलामको टुक्रा  तिमीसित जुधाएमा वा ठोकाएमा  आगोको झिल्का निकाल्न सक्नेछौ । दोस्रो वरदान नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा बोक्सी डायनीहरूलाई भगाउन सक्नेछ । तेस्रो वरदान प्रेतात्माहरूलाई नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा ती प्रेतात्माहरूलाई  भगाउन सक्नेछ ।”
यस्ता वरदान पाउने भएपछि दलसिङ ढुङ्गाले आगोलाई आफ्नो शरीरभित्र नदेखिने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आईपुग्यो तर आगोलाई देखेन । त्यसपछि पानी दलसिङ ढुङ्गालाई छोप्दै बगेर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगो बाँच्यो ।
त्यसरी दलसिङ ढुङ्गाले आगोलाई बचाएकोले वरदान पायो । आज भोलि पनि मानिसहरूआगो चाहिएको बेला चकमक र दलसिङ ढुङ्गा जुधाएर आगो पार्छन् । नाकझोङ, धामी, येवा, बिजुवाले दलसिङ ढुङ्गा हातमा लिई मन्तरेर  बोक्सी डायनीहरू, प्रेतात्माहरूलाई हान्ने गर्छन् ।

***
रारा ताल
Embedded image permalink

Saturday, January 16, 2016

(किरात लोककथा) माङदुङलेङमा

किरात लोककथा
माङदुङलेङमा
संकलन — वर्तमान
संक्षेपिकरण— सरण राई
उहिले किरात वस्तीमा एकजना जालाहारी बस्थ्यो । माछा मार्नु अनि बजारमा माछा बेचेर जीवन गुजारा गर्नु उसको पेशा थियो । ऊ दयालु भएकोले छरछिमेकीहरूलाई माछा बाड्थ्यो । सबैसँग राम्रो व्यवहार गर्ने हुनाले उसलाई सबैले मन पराउथे । तर त्यसको ठीक विपरित उसकी स्वास्नी टुमाउटी, झगडालु, कुरौटी र चिच्चा थिई । कहिले कसैलाई केही पनि दिन्नथि । उसको यस्तो बानीबेहोराले उसले सबैलाई शत्रु बनाएकी थिई ।
रातदिन खोलामा माछा मारीरहने हुँदा आफ्नी स्वास्नीको यस्तो बानीबेहोरा जालाहारीलाई थाहा थिएन । ऊ बजार जान नसकेको दिन उसकी स्वास्नी बजार जान्थी । नबिकेको माछा बाड्नुको सट्टा कुहाएर सुँगुर र कुख्रालाई दिन्थी ।
रातदिन पानीमा भिजेर कडा काम परिश्रमले गर्दा जालाहारी बिरामी भयो । बिरामी भएको थाहा पाएर छिमेक र गाउँलेहरू उसलाई भेट्न आए । तर उसकी पत्नीले आँगनबाटै सबैलाई फर्काउथी । अब गाउँलेहरू भेट्न आउँन छाडे । जालाहारीको मृत्यु भयो ।
जलाहारीको मृत्यु भएको गाँउलेहरूले थाहा पाए तर कोही मलामी आएनन् । जालाहारीकी स्वास्नी रुनकराउन थाली तर गुहार माग्न जान सकिन । गाउँलेहरू आज आउलान्, भोलि आउलान् भन्दाभन्दै लास कुहिन थाल्यो । स्वास्नीले लासलाई डोको र जालले छोपी । (लास कुहेर त्यहाँ च्याउँ उम्रियोभने उसको आत्मा माङदुङलेङमा भएर रह्यो । आजभोलि पनि त्यस खाले च्याउँ पाइन्छ जुन च्याउँ डोको र जालले छोपिएकोजस्तो हुन्छ ।)
आफ्नो लास उठाउन कोही आउँछ कि भनेर माङदुङलेङमा लेङ लेङ लेङ... गर्दै कराउँन थाल्यो । तर कोही नआएपछि माङदुङलेङमा कराउँदाकराउँँदै जङ्गल पस्यो, जङ्गलमा पनि कराउन छाडेन ।
माङदुङलेङमा कराउँदाकराउँदै आफ्नो लास उठाउन कोही आउँछ कि भनेर बीच बीचमा अडिएको हो भनिन्छ । यो किरा साउन–भदौतिर कराउँनु र कराउँदाकराउँदै रोकिनुप्रति किरातहरू यही कुरालाई विश्वास गरेर कथा भन्ने गर्छन् ।
२०७२ माघ ३, धरान
साभार— हेछाकुप्पा (किरात लोककथा) , नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (२०५७)
http://pyaarosansaar.blogspot.com/

Friday, January 1, 2016

(किरात लोककथा) ठूब्यूमा चरी

किरात लोककथा
ठूब्यूमा  चरी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

उहिले माझकिराँतमा ठूब्यूमा नाम गरेकि अत्यन्त राम्री तरुनी थिइन् । तिनको एकजना युवकसँग विवाह भयो । त्यो युवकको सातजना दाजु भाई थिए र विवाहपछि ठूब्यूमाको सातजना जेठानी–देउरानी भए ।
 ती सातजना जेठानी–देउरानीका एक एकवटा छोरी थिए भने ठूब्यूमाको चाहीँ छोरा जन्मेको थियो । त्यसैले जेठानी–देउरानीहरू ठूब्यूमाको छोराप्रति साह्रै ईष्र्या र रिस गर्दथे ।
एकदिन ठूब्यूमाको जेठानी–देउरानीहरूले सल्लाह गरेर ठूब्यूमालाई भने “नानीको आमा भएकोले हामी सफा सुग्घर भएर बस्न पाउँदैनौँ , सधैं फोहोरी देखिन्छौँ । त्यसकारण दिसा पिसाब फोहोर मैला गर्ने नानीहरूलाई खोलामा बगाई दिऊँ । अनि हामी सबै सफा सुग्घरसँग बसौँ ।’’
जेठानी–देउरानीहरूको कुरामा ठूब्यूमाले पनि सही थापिन् । एकदिन ठूब्यूमा र तिनका सातजना जेठानी–देउरानीहरू आ–आफ्ना नानीहरू बगाउन खोलामा गए ।  ठूब्यूमाले आफ्नो नानीलाई गुन्द्रीमा बेरेर लगिन् र खोलामा बगाइन् ।  तिनका सातजना जेठानी–देउरानीहरूले भने थाङ्नाको बालक बनाई गुन्द्रीमा बेरेर लगेका थिए र त्यसलाई बगाए । त्यसबेला ठूब्यूमाले जेठानी–देउरानीहरूले कपट गरेको कुरा थाहा पाउँन सकिनन् ।
घर फर्केर आएपछि हेर्दा ठूब्यूमाले आफ्ना जेठानी–देउरानीहरूका नानीहरू कोक्रोमा खेलिरहेका देखिन् । आफ्नो छोरालाई खोलामा बगाएकोमा ठूब्यूमालाई ठूलो पश्चात्ताप भयो र “सिब्यू ! सिब्यू ! सिब्यू ! (नानी  ! नानी ! नानी  ! )’’ भन्दै रुँदै हिड्न थालिन् ।
ठूब्यूमाले बगाएको छोरालाई खोलाले बगाएर एउटा ठूलो दहमा पु¥यायो र धेरै दिनसम्म त्यही डुबि रह्यो । दहका पानी सङलो थियो । ठूब्यूमा प्रत्येक दिन आफ्नो छोरा हेर्न त्यस दहमा जान्थिन् र धेरै बेरसम्म छोरालाई हेर्थिन् । फर्कदा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै आउथिन् ।
यसरी धेरै दिन बितेपछि वर्ष लाग्यो र पानी प¥यो । ठूलो बाढी आयो र ठूब्यूमाको छोरालाई बाढीले बगाइ लग्यो । भोलिपल्ट पानी धमिलो भएको  र छोरालाई समेत बाढीले बगाइ सकेकोले आफ्नो छोरालाई ठूब्यूमाले  देख्न पाइनन् । यसरी आफ्नो छोरालाई नदेखेपछि ठूब्यूमा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै कराउँदै घर फर्किन् र त्यही रात प्राण त्यागिन् ।
अर्को जन्ममा ठूब्यूमा चरी भएर जन्मिन् । आजभोलि पनि जब जब पानी पर्छ र बाढीले खोला धमिलो हुन्छ त्यो चरी “सिब्यू  चुक चुक ( नानी छोरा ज्याहै ज्याहै)’’ भन्दै कराउँछे  । यसरी आज पनि त्यो चरी कराउँदा नानीहरूको सातो जान्छ भन्ने माझकिराँतमा विश्वास गरिन्छ । त्यसैले ठूब्यूमा चरीलाई ‘सातो बोक्ने चरी’ भन्ने प्रचलन  आज पनि रहेको छ ।

साभार— किराँती लोककथा सँगालो
२०७२ पौष १७ (जनवरी १ , १०१६)

Sunday, December 27, 2015

(तुर्कमानी लोककथा) बुद्धिमान केटो

(तुर्कमानी लोककथा)
बुद्धिमान केटो

अनुवादक— सरण राई

एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँँग धेरै नोकर  चाकरहरू पनि थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु पर्यो  । सबैजना नाउमा बसेर नदी तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो । नाउ टुक्रा टुक्रा भयो ।
मनिसहरू डुबे । तन्नेरी नोकरह्रूमध्ये एकजना मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी रह्यो । किनारामा पुगेपछि ऊ जता पायो उतै गयो ।
टाढैबाट एउटा नगर देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन् होला ?” डराउदै उसले सोच्यो ।
त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।
”यो के गरेको होला ? यसलाई के सम्झनुपर्ने हो ?” उसले आफ्नो वरिपरी जम्मा भएका मानिसहरूलाई सोध्यो ।
”हाम्रो देशमा यस्तै प्रथा छ”, सेतो दाह्री भएको एक जना भलादमी बूढाले जवाफ दियो, “जब राजाको राज्य अवधि सकिन्छ, र हाम्रो यहाँ यो एक वर्षको हुन्छ, तब राजालाई हामी पहाडतिर लान्छौँ, जहाँ सर्प–बिच्छुहरूको बस्ने ढिस्काहरूले भरिएको खाडलहरू छन्, र उसलाई त्यहाँ सर्प र बिच्छुहरूले टोकेर मर्नका लागि फ्याकि दिन्छौँ । त्यसको ठाउँमा जो नगरको ढोकामा सबैभन्दा पहिला आउँछ, उसैलाई सिंहासनमा  राख्छौँ । यस पटक हामीले तिमीलाई भेट्यो, यसकारण तिमीलाई हाम्रो राजा बनाएका छौँ ।”
“यसको माने यो भयो कि जबसम्म म राजा रहनेछु”, शान्त भएर युवकले सोध्यो, “म जे चाहन्छु गर्न सक्छु ।”
“पक्का हो”, भलादमीले जवाफ दियो, “एक वर्ष सबै तिम्रो हातमा छ ।”
आफ्नो शासनको थालनी नै युवकले त्यो डरलाग्दो पहाडको आक्रमणबाट शुरु गर्यो  । उसले एउटा ठूलो सेना जम्मा ग¥यो र सर्पहरू र बिच्छुहरू मात्र नभएर उसले त्यस पहाडमा भएका सबै हिंस्रक जीवजन्तुहरूलाई सखाप पा¥यो । यसपछि त्यहाँ कुलो खन्ने र बगैचा लगाउने आदेश दियो र त्यहाँ नगर बसायो । जब उसको राज्य गर्ने अवधि समाप्त भयो, मान्छेहरूलाई त्यो डरलाग्दो ठाउँको सम्झना समेत रहेन । मानिसहरूले आफ्नो राजाको काम देखेर उसलाई फेरि छाने । यस प्रकार ऊ धेरै वर्षसम्म बाँच्यो र आफ्नो प्रजाको भलाईको लागि थुप्रै राम्रा कामहरू गर्यो  ।


साभार–‘तुर्कमनी लोक कथाएं’ रादुगा प्रकाशन, मास्को, १९८२ ई.सं.
जुम्ला सदरमुकाम खलंगामा  हिउँ परिरहँदा गन्तव्यतिर लम्किरहेका स्थानीय। तस्बिर : डीबी बुडा Embedded image permalink

( महावाणी ) सुख के हो ?

संकलक–रवीन्द्र वांगड
अनुवादक– सरण राई


* सुखका एउटा ढोका बन्द हुँदा अर्को खुलेको हुन्छ । तर हामी कहिले कही बन्द भएको ढोकालाई यति धेरै समयसम्म हेरिरहन्छौँ कि खुलेको ढोका देख्न सक्तैनौँ ।
                                —हेलेन केलर

* मलाई आश्चर्य लाग्छ कि सुखको मनोकामना गर्नु पनि मेरो दुःखको अटुट भाग भएको छ ।
                —खलील जिब्रान

* सुख दिने कुराहरू पहिले पनि थिए र अहिले पनि छन् । फरक यो छ कि जुन व्यक्ति सुखको मोल पहिले तिर्छ  र त्यसको आनन्द पछि लिन्छ, उसले धेरै स्वाद पाउँछ । जसले सुख सजिलै पाउँछ, उसको निम्ति सुख नै मृत्यु हो ।
—    रामधारीसिंह दिनकर

* मनिसलाई सुखको पीर र अल्सिले चौपट बनाउछ ।
—शौपनहावर

* सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने संकटले महान् मानिसको ।
—प्लिनीद यंगर

* धरतीमा फूलहरू एकअर्कासित इष्र्या गर्दैनन् जबकि उनीहरू एक अर्कोभन्दा सुन्दरता र खुबीहरूले भरिएका हुन्छन् । उनीहरू एक अर्काको छिमेकमा बस्दछन् र एकअर्काको खुबीहरूबाट सुख पाउँछन् ।
—    जेकब बोह्मी

* त्यही मानिस सुखी हुन्छ जो मानसिक अशान्ति बीना साँचो सिद्धान्त र आदर्शमा हिड्दै आफ्नो गन्तव्य तय गर्छ ।
—ऐस्ट्रँज

* सुख असल गुणद्वारा उत्पन्न गर्न सकिन्छ र यसको लागि  यो आवश्यक हुन्छ कि यसको निर्माण सत्यको जगमाथि गरिएको होस् ।
—    काँलरिज

* अरूलाई सुख दिँदा हामी यति धेरै सुख पाउँछौँ कि हामी उसलाई धन्यवाद दिन मन पराउछौँ ।
—    हेनरी द मौतरलां

***
  (स्रोत - नवनीत, वर्ष ३२, अङ्क १२, दिसम्बर, १९८३)Embedded image permalink

(लघु कथा) राखन

लघु कथा
राखन
सरण राई
माइला र माइली आफूसित भएको थोरै जग्गा जमिनमा धेरै परिश्रम गरेर जीवन निर्वाह गरीरहेका थिए | प्रसस्त सम्पति नभए पनि माइलीको हंसमुख स्वाभावले गाउँलेहरु उनीहरुको घरमा अाईरहन्थे | जे जस्तो खाने चिज छ ,खुसी हुदै माइली खान दिन्थिन् |
माइलीको आथित्य सत्कारबाट गाउँलेहरु खुसि हुन्थे र आफुले सकेको मदत गर्न चाहन्थे | माइला भने उसको सबैलाई खान दिने बानी देखि खुसि थिएन | माइली एक्लै भएको बेला भन्थ्यो _ "त्यसरी खाने कुरा नबाँड, हामीलाई नै खाने कुराको अभाव छ |"
रहदै बस्दा उनीहरुको पनि छोरा छोरीहरु जन्मिए , हुर्किए र बिहेवारी गरेर बेग्लाबेग्लै बस्न थाले |
एकदिन सिकिस्त बिरामि भएर माइली परमधाम गईन् | माइला बुदेसकालमा एक्लो भयो | उसलाई हेरचाह गर्ने कोहि थिएन | सकेको बेला पकाएर खान्थ्यो नभए भोकै बस्थ्यो |सार्है भोकाएको बेला भने ऊ गाउँलेहरुको घर जान्थ्यो | जसको घर गएपनि "माइलीले हामीलाई कति खाने कुराहरु दिएकी थिइन् ' भन्दै उसलाई अघाउन्जेल खान दिन्थे |
यस्तो देखेर माइली जीवित हुँदा उसले खाने कुराहरु गाउँलेहरुलाई दिँदा रिसाउने माइला सोच्न पुग्छ ," माइलीले त अनेक खाने कुराहरु गाउँलेहरुलाई बाड़ेकी होइन रहेछ , मेरो लागि पो ति खाने कुराहरु राखन धारनमा राखी छाडेकी रहेछिन्, जो गाउँलेहरुले अहिले मलाई दिई रहेका छन् |"


२०७२ असोज १७ , धरान