Friday, October 14, 2016

वुद्धका १४ महावाणी

वुद्धका १४ महावाणी (World Students Day को सन्दर्भमा) -
१। मानिसको सबैभन्दा “ठूलो दुश्मन” मानिस नै हो । मानिसलाई राम्ररी चिन्नु ।
२। सबैभन्दा “ठूलो असफलता” आत्म-स्वार्थमा बाँच्नु हो । आफ्नो सफलतालाई अरुको स्वार्थसँग जोड्नु ।
३। सबैभन्दा “ठूलो शोक” ईर्ष्या हो । ईर्श्या नगर्नु र शोकबाट मुक्त हुनु ।
४। सबैभन्दा “ठूलो गल्ती” आफैलाई नचिन्नु हो । आफ्नो हैसियत बुझ्नु ।
५। सबैभन्दा “ठूलो अपराध” मातापिताको आनादर गर्नु हो । मातापिताको सेवा गर्नु ।
६। सबैभन्दा “ठूलो अज्ञानता” छलकपट हो । आफु मात्र बाठो भएको नठान्नु ।
७। सबैभन्दा “दयालाग्दो अवस्था” अवसाद (Depression) हो । आफुलाई व्यस्त राख्नु ।
८। सबैभन्दा “ठूलो गौरब” असफलताहरूबाट उत्रिनु हो । सफलताको निम्ति लागि रहनु ।
९। सबैभन्दा “ठूलो टाट पल्टिनु” भनेको निरास हुनु हो । आशावादी भएर वाँच्नु ।
१०। सबैभन्दा “ठूलो सम्पती” स्वस्थ्य र ज्ञान हो । सबै कुरा नखानु तर सबै कुरा सिक्नु ।
११। सबैभन्दा “ठूलो ऋण” कसैको माया नतिर्न हो । सबैभन्दा धेरै माया गर्ने माता-पितालाई माया तिर्नु, सबैसँग मीठो बोल्नु ।
१२। सबैभन्दा “ठूलो उपहार” स्वीकार्य हुनु र क्षमा पाउँनु हो । अरुको भलो गर्नु, गल्ती हुनासाथ क्षमा माँग्नु ।
१३। सबैभन्दा “ठूलो कमजोरी” अज्ञानता हो ।सँधै अध्ययन गरिरहनु ।
१४। सबैभन्दा “ठूलो सान्त्वना” दान हो । कमाईको केही अंश दान गर्नु ।
साभार  
Bikram Subba को फेसबुक 

Thursday, August 11, 2016

" ड्यामक्लिजको तरबार"

" ड्यामक्लिजको तरबार" वहुचर्चित र साहित्यमा धेरै ठाँउमा प्रयुक्त विम्व हो । ड्यामक्लिज ई.पू. चौथो शाव्तादीका सिसिलीका राजा डायनिसस - २ को दरवारिया भारदार हो । राजाको चाकरीमा उपस्थित हुने र उनको वैभवको गुणगान , स्तुति वा प्रशस्ति उसको दैनिकी थियो । सत्ता र शक्तिमा वस्ने मान्छेले कसरी निरन्तर संकट र जोखिम मोलेको हुन्छ भन्ने प्रत्यक्ष अनुभूति गराउने बिचारले राजाले अल्प समयको लागि उ संग आफ्नो पद साट्ने अनौठो प्रस्ताव गरे । ड्यामक्लिज उत्साहित हुँदै शिंहासनमा बस्न गयो भने राजा भारदारको सिटमा । राजसी खान- पान, सुख सुविधा र ऐश्वर्यले उसलाई स्वर्गीय अनुभूति हुँदै थियो । तर जब शिंहासन (?)को माथि ठीक उसको टाउकोमाथि पर्ने गरी घोडाको पुच्छरको एउटै मात्र रौँ को सहारामा झुण्डिरहेको बडेमाको खड्गमा आँखा परे उसको हंसले ठाउँ छोड्यो । उसलाई १ मिनेट पनि भारी भयो र तुरुन्ता तुरुन्तै उसले राजपाट राजालाइनै फिर्ता गर्‍यो ।

Monday, August 1, 2016

गौतम बुद्ध र गरिब

एउटा गरिब ब्यक्तिले गौतम बुद्धलाई सोधे "भगवान बुद्ध ,म  गरिब भएको कारण के होला ? "
बुद्धले जबाफ दिनु भयो  "तिमीले अरुलाई दान नगरेको कारणले गर्दा हो |" 
 बुद्धको उपदेश सुनें पछि त्यों गरिबले भन्यो "मसँग  दान गर्ने धन सम्पत्ति केही  छैन | मैले के दान गर्नु र ?"
बुद्धले भन्नु भयो  "तिमीसँग दान गर्ने   धेरै  चिज छन् । पहिलो– अाफ्नो अनुहार को मुस्कान अरुलाई दिनु !  दोस्रो– आँखाले अरुलाई दयाले हेर्नु ! तेस्रो– मुखले अरुको गुण व्यक्त गर्नु ! चौथों -- मन ले अर्काको भलो सोच्नु  ! पाँचों -शरीरले अरुलाई  मदत गर्नु  !" 
 बुद्धको उपदेश सुनें पछि त्यों गरिबको आँखा खुल्यो | वास्तवमा अर्कालाई मद्दत  चाहने मानिसहरु  कोहि गरिब हुँदैनन् | 

Tuesday, July 5, 2016

(लोक चुट्का) मनकान्छे

(लोक चुट्का) मनकान्छे

सङ्कलन-- सरण राई

"पानी भर्न जान्छेस् , मनकान्छे ?"
"किन जान्थे नि बिरामी मान्छे |"
"घाँस काट्न  जान्छेस् , मनकान्छे ?"
"किन जान्थे नि बिरामी मान्छे |"
"काम गर्न जान्छेस् , मनकान्छे ?"
"किन जान्थे नि बिरामी मान्छे |"
"बजार जान्छेस, मनकान्छे ?"
किन जान्न नि  रहरेमान्छे |"

२०७३ असार २२, धरान



Tuesday, May 17, 2016

शिशुजन्य लोकवार्ता ( Folk Lure )

शिशुजन्य लोकवार्ता ( Folk Lure )

इर्की...मिर्की ...दुवाकी ..छिर्की ...चाँपे ...लौरी ...गोपी... गाई ...इस,,,तीस .. पुग्यो...पुगेन ... बाह्रै...बीस ..


साङ्लोले बाँध्दा भएन
डोकोले छोप्दा भएन
ढ़िकीले किच्दा भएन ...
ल .है .. मेरो भोटे कुकुर छाडीदिएँ है !

Tuesday, April 26, 2016

प्रेरक प्रसंग

 प्रेरक प्रसंग


Confucius

महान विचरक कन्फ्यूसियस चीनमा ठुला दार्शनिकका रुपमा परिचित थिए । चीनको सम्राट पनि उनको धेरै आदार गर्थे । एक दिन चिनियाँ सम्राटले उनीसँग भने , ‘ कन्फ्यूसियस मलाइ त्यस्तो मानिस भएको ठाँउमा लैजाउ जो सवैभन्दा महान छ । ’
सम्राटको आदेश खस्न नपाउँदै कन्फ्यूसियसले भने , ‘ त्यस्तो महान मन्छे त तपाई आफै हुनुहुन्छ , किनकि जसले सत्य थाहा पाउने इच्छा राख्छ त्यो नै महान हो । ’
कन्फ्युसियसको जवाफ सुनेपछि एक छिन सोचेर सम्राटले भने , ‘ तिमी मलाई म भन्दा पनि महान मानिसको बारेमा भन । ’ सम्राटको आदेश पाउनासाथ कन्फ्युसियसले भने , ‘तपाई भन्दा महान मै हुँ । किनकी म सत्यलाई प्रेम गर्छु ।'
सम्राटले फेरि भने , ‘त्यो त हो , तिमी म भन्दा त महान छौ । तर मलाई त तिमी भन्दा पनि महान मानिस चाहियो । ’ सम्राटको चाहना बुझेपछि कन्फ्युसियसले भने , ‘ त्यसो भए ठिक छ , तपाई म सँग हिड्नुहोस् । म तपाईलाई त्यस्तो मानिसकहाँ लिएर जान्छु , जो हामी सबैभन्दा महान छ ।'
त्यसपछि दुवै महान मान्छेको खोजीमा हिडे । एक ठाँउमा उनीहरुले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखे । दार्शनिक कन्फ्युसियसले भने , ‘सम्राट हेर्नुस , यी मानिस धेरै वृद्ध भइसकेका छन । शरिर पनि धेरै दुर्वल छ र पनि कुवा खनिरहेको छन । ’ सम्राटले त्यसको कारण जान्न खोजे । यति वृद्ध अवस्थामा पनि उनी किन यसरी सकी – नसकी कुवा खनिरहेका छन ? कन्फ्युसियसले जवाफ दिए , ‘ उनी यो सब परोपकारका लगि गरिरहेका छन् सम्राट । उसको आनन्द अनुभुति परोपकारमा निहित छ । जसको तनमन यस्तो आनन्दाभुतिमा निहित छ , अव यो भन्दा महान के हुन सक्ला र ? होइन त सम्राट ? ’ सम्राटलाई उनको तर्क चित्त बुझ्यो । त्यसपछि उनले ति वृद्धालाई ठुलो सम्मान दिए ।

Sunday, February 14, 2016


Langtang Lirung

(चिनियाँ लोककथा) मालियाङ र उसको जादुगरी बुरुस

चिनियाँ लोककथा
मालियाङ र उसको जादुगरी बुरुस
(हान जातिको एक कथा)

अनुवादक– पूर्णबहादुर एम. ए.
संक्षेपिकरण– सरण राई


कुनै बखत बालककालमा नै टुहुरा भएको मालियाङ नाँउको एउटा केटो थियो । ऊ दाउरा बेचेर र घाँस काटेर जिविका चलाउथ्यो । केटो चलाख थियो र चित्रकला सिक्न चाहन्थ्यो । तर बुरुस किन्ने उसको सामथ्र्य थिएन ।
एकदिन उसले स्कुलमा मास्टरले चित्र लेखिरहेको देख्यो । मुग्ध भएर उसले बुरुस माग्यो  तब मास्टरले “भिखारीले पनि चित्र लेख्छ ?” भन्दै उसलाई धपायो । तर मालियाङको चित्र लेख्न सिक्ने इच्छा तीव्र थियो । “गरिब भएँ भन्दैमा मैले चित्र लेख्न सिक्न किन नपाउने ?” मनमनै उसले प्रश्न ग¥यो ।
उसले चित्र लेख्ने सङ्कल्प ग¥यो र अभ्यास गर्न थाल्यो । दाउरा जम्मा गर्दा हाँगाले बालुवामा चराहरू कोर्ने गथ्र्यो । पानीमा औला चोपेर ढुङ्गामा माछाहरू कोर्ने गथ्र्यो । पर्खालहरूमा पनि ऊ चित्रहरू लेख्ने गथ्र्यो ।
समय बित्दै गयो । मालियाङले चित्र लेख्ने अभ्यास प्रत्येक दिन गर्ने गरेकोले चाडै उन्नति ग¥यो । उसले कोरेका चित्रहरू चरा, माछा जिउदैजस्ता लाग्थे । यस्तो देखेर मानिसहरू धेरै प्रभावित हुन्थे । तर ऊसँग बुरुस थिएन  र सोच्दथ्यो— “बुरुस भए म कति सुखी हुने थिएँ ।”
एक रात मालियाङलाई सपनामा  सेतो दाह्री भएको एक जना बुढो मानिसले एउटा बुरुस दियो र भन्यो— “यो जादुगरी बुरुस हो, होसियारीसाथ प्रयोग गर्नु ।” केटो झसङ्ग बिउझ्यो । ‘यो सपना हो’ भन्ने सम्झिरहेको बेला उसको हातमा त्यो जादुगरी बुरुस थियो र ऊ आश्चर्यमा मग्न भयो ।
उसले त्यस बुरुसले चराको चित्र लेख्यो । चित्रको चरा आकाशतर्फ उडदै गएर उसलाई गाएर सुनाउन थाल्यो । माछा लेख्यो, माछा पुच्छर हल्लाउदै नदिभित्र पसेर खेल्न थाल्यो । मालियाङ अत्यन्त आनन्दले सिरिङ्ग भयो ।
केटो मालियाङ आफ्नो जादुगरी बुरुसले गाँउका गरिबहरूका लागि हलो, कोदालो, डिबिया, बत्ती, बाल्टी इत्यादी लेखि दिने गथ्र्यो ।
मालियाङसित भएको जादुगरी बुरुसको बारेमा जमिनदारले थाहा पाएर उसलाइै पक्रेर लग्यो र आफ्ना लागि चित्र कोर्न लगायो तर उसले मानेन । नमानेकोले उसलाई  एउटा तबेलामा थुनेर धेरै दिन भोकभोकै राख्यो । हिउँ पर्न थाल्यो,जाडो र भोकले मालियाङ मरि सक्यो होला भन्ने सोचेर जमिनदार उसलार्इ हेर्न  गयो तर मालियाङ टूलो अगेनुमा रोटी सेक्दै खाईरहेको थियो । जमिनदारले सोच्यो कि उसले चित्र लेखेको हुनु पर्छ । त्यस पछि जमिनदारले मालियाङलाई मारेर उसको जादुगरी बुरुस खोसेर ल्याउन मानिसहरू पठायो  तर त्यहाँ मालियाङ थिएन । एउटा भरेङको चित्र थियो । जमिनदार भरेङ चढेर पिछा गर्न थाल्यो  तर तेस्रो सिँढी चढ्दा भरेङ बिलायो र जमिनदार जमिनमा पछारियो ।
मालियाङ अब त्यस गाँउमा लुकेर बस्न सक्दैनथ्यो । उसले एउटा घोडाको चित्र लेख्यो र त्यही घोडामा चढेर भाग्दा जमिनदार र अरु बीस जनाले पछ्याउन थाल्यो । मालियाङले  जादुगरी बुरुसले धनुष र तीर लेख्यो । तीरलाई धनुषमा लगाएर हान्यो । तीर जमिनदारको घाँटीमा लाग्ने बित्तिकै जमिनदार घोडाबाट खस्यो । मालियाङ भाग्न सफल भयो ।
मालियाङ धेरै टाढा गएर एउटा सहरमा बस्न थाल्यो । सहरमा काम पाउन नसकेकोले चित्रहरू लेखेर बजारमा बेच्थ्यो । उसको बारेमा कसैले थाहा नपाओस् भनेर उसले लेखेका चित्रहरूका चराहरू अङ्गभङ्ग हुन्थ्यो । कसैको खुट्टो हुन्नथ्यो भने कसैको आँखा वा चुच्चो । यसो हुँदा ती सजीव हुँदैनथे ।
एक दिन आँखा नभएको सारस लेखिसकेपछि टाउकोमा मसीका थोप्लाहरू छर्किदा आँखा नभएको ठाँउमा पर्न गयो । यति हुने बित्तिकै सारस उडेर गयो । तुरुन्तै सारा सहरमा होहल्ला मच्चियो  । बादशाहकहाँ पनि यो खबर पुग्यो । खबर सुन्नासाथ  बादशाहले मालियाङलाई लिएर आउन अफिसरहरू पठायो ।
बदशाहको निर्दयी व्यवहारबारे उसले सुनिसकेको थियो र उसका लागि  चित्र लेख्न ऊ राजी थिएन ।  त्यसकारण बादशाहले नागराजको चित्र लेख्न र फिनिक्स(मुजुर)को चित्र लेख्न हुकुम दिँदा घिनलाग्दो बिषालु भ्यागुता र फोहोरी कुखुरा लेखि दियो । बिषालु भ्यागुता र फोहोरी कुखुराले दरबार वरीपरि घुमेर फोहोर पारेकोले  बादशाह रिसायो । मालियाङलाई उसको जादुगरी बुरुस खोसेर झ्यालखानामा कैद ग¥यो ।
बदशाहले जादुगरी बुरुसले सुनको पहाडहरू लेख्यो  तर ती सुनका पहाड नभई ढुङ्गाको थुप्रो भयो । त्यो भत्केर लड्दा बाखशाहको खुट्टा किच्यो ।
तैपनि लोभमा परेका बादशाहले सुनको इँटहरू लेख्यो । त्यसले चित्त नबुझेर सुनको लामो डन्डी लेख्यो ।  तर चित्र लेखिसकेपछि  तिम्रो विचारमा त्यहाँ के  भयो होला ? सुनको डन्डी त लामो सर्प भएर मुख आ गरेर    बाशाहलाई खान झम्टन थाल्यो । भाग्यवश अफिसरहरूले उसलाई बचाए ।
बादशाहले अब जादुगरी बुरुस  प्रयोग गर्नु हुँदैन भन्ने महसुस ग¥यो । मालियाङलाई झ्यालखानाबाट मुक्त गरेर सुन–चाँदी दिई राम्रो बोली गर्दै राजकुमारी पनि दिने बाचा गरेर चित्र कोर्न फकायो ।
मालियाङले पनि मानेको जस्तो ग¥यो  तर उसले मनमनै आफ्नो योजना बनाइ सकेको थियो ।  बादशाह सोच्न लाग्यो— “उसले पहाड लेख्यो भने जङ्गली जानवरहरू निस्कन सक्छन् । बरु समुद्र लेख्नु जाती छ ।”
यसकारण मालियाङलाई समुद्र लेख्न अह्रायो । मालियाङले जादुगरी बुरुसले समुद्र लेख्यो । एक अपार सफा समुद्र देखा प¥यो । बादशाहले भन्यो—“यस समुद्रमा किन कुनै माछा छैन ?”
मालियाङले केही बिन्दुहरू थपि दियो । तुरुन्तै माछाहरू देखा परे । जब ती माछाहरू टाढा जान लागे, बादशाहले भन्यो— “छिटो एउटा डुङ्गा लेख । त्यसमाथि बसेर माछा हेर्न म समुद्रमा जान चाहन्छु ।”
मालियाङले एउटा ठूलो डुङ्गा लेख्यो, त्यसमा बादशाह, रानी, राजकुमारीहरू र धेरै मन्त्रीहरू बसे । त्यसपछि उसले केही रेखाहरू लेखेर बतासको रेखा खिच्यो । समुद्रमा हलुका तरङ्ग देखा परे अनि डुङ्गा चल्यो ।
तर बादशाहलाई डुङ्गाको गति ढिलो लाग्यो र भन्यो— “बतास अलि कडा बनाऊ ।”
मालियाङले दुई–चार धर्साहरू कोरेको मात्र थियो । हावा जोडले चल्न थाल्यो, छालहरू निस्कन लागे । डुङ्गा समुदको बीचतिर जाँदै थियो ।
मालियाङले फेरि केही बढ्ता धर्साहरू तान्यो, समुद्र गर्जन लाग्यो, ठूला छालहरू उठे र डुङ्गा उल्टन लाग्यो ।
बमदशाह जोडले कराउन लाग्यो— “बतास बढी भो । भयो, भयो म भन्दै छु ।”
तर मालियाङले वास्ता गरेन । उसले जादुगरी बुरुस चलाउदै गयो, आँधी चर्किदै गयो । छालहरू जहाजको छतमा पनि पसे । बादशाह निथ्रुक्क भिज्यो । मस्तुल बेसरी समाएर मालियाङलाई मुक्का देखाउँदै ऊ जोरसित कराईरह्यो ।
मालियाङले चाहीँ नसुनेजस्तो गरिरह्यो, बतासको धर्साहरू खिच्दै गयो । ठूलो तुफान आयो । डुङ्गा पल्टेर चकनाचूर भयो । बादशाह र उसका मन्त्रीहरू समुद्रमा डुबे ।
बादशाह मरिसकेपछि मालियाङ र उसको जादुगरी बुरुसको कथा जताततै फैलियो । तर मालियाङलाई के भयो ? कसैले निश्चयपूर्वक केही भन्न सकेनन् ।
कोही भन्छ कि ऊ आफ्नो गाँउमा फर्केर आफ्ना किसान साथीहरूसित बस्न गयो ।
अरुहरू भन्दछन्— ऊ पृथ्वीमा अन्यत्र घुम्न गयो र ऊ जहाँ गए पनि उसले गरिबहरूको निम्ति लेख्यो ।

साभार— चिनियाँ लोककथा





Wednesday, January 20, 2016

(किरात लोककथा) आगो र पानी

आगो र पानी

संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

तागेरा निङवाफुमाङले सम्पूर्ण प्राणीहरूको भलाईका लागि आगो र पानीको सृष्टि गरे । एकदिन आगो र पानीको बीचमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो ।
आगोले पानीलाई भन्यो— “तँभन्दा म ठूलो हुँ, किनभने म संसारलाई डढाउन सक्छु । तेरोभन्दा मेरो शक्ति ठूलो छ ।”
पानीले पनि आगोलाई भन्यो— “तँभन्दा म ठूलो हुँ , किनभने म संसारलाई डुबाउन सक्छु । तँलाई समेत निभाउन सक्छु ।”
त्यसपछि फेरि आगोले पानीलाई भन्यो— “तँ बढि के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो, उसलाई भनेर खडेरी  पारी दिन्छु । तेरो मुहान नै सुकाइदिन्छु । समुद्र पनि सुकाइ दिन्छु ।”
यसरी वादविवाद चलेपछि पानीलाई आगोसित साह्रै रिस उठ्यो र आगोलाई एकै छाक बनाइदिन्छु भन्दै लखेट्न थाल्यो । आगो भाग्दै गयो , पानीले लखेट्दै गयो । अन्तमा आगोले  दलसिङ ढुङ्गाको छेउमा पुगेर भन्यो— “पानीले मलाई लखेट्दै छ र मलाई मार्न आँट्यो । तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाई मेरो ज्यान बचाईदेऊ । त्यसवापत म तिमीलाई वरदान दिन्छु ।”
दलसिङ ढुङ्गाले आगोलाई सोध्यो— “ के वरदान दिन्छौ ?”
आगोले दलसिङ ढुङ्गालाई जवाफ दियो— “तिमीले आफ्नो शरीरभित्र मलाई नदेखिने गरी लुकाएर मेरो ज्यान बचाई दियौ भने म तिमीलाई तीनवटा वरदान दिनेछु । पहिलो वरदान तिमी पृथ्वीमा आगोको माउ भई रहनेछौ । चकमक वा फलामको टुक्रा  तिमीसित जुधाएमा वा ठोकाएमा  आगोको झिल्का निकाल्न सक्नेछौ । दोस्रो वरदान नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा बोक्सी डायनीहरूलाई भगाउन सक्नेछ । तेस्रो वरदान प्रेतात्माहरूलाई नाकझोङ, धामी, येवा, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर  हानेमा ती प्रेतात्माहरूलाई  भगाउन सक्नेछ ।”
यस्ता वरदान पाउने भएपछि दलसिङ ढुङ्गाले आगोलाई आफ्नो शरीरभित्र नदेखिने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आईपुग्यो तर आगोलाई देखेन । त्यसपछि पानी दलसिङ ढुङ्गालाई छोप्दै बगेर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगो बाँच्यो ।
त्यसरी दलसिङ ढुङ्गाले आगोलाई बचाएकोले वरदान पायो । आज भोलि पनि मानिसहरूआगो चाहिएको बेला चकमक र दलसिङ ढुङ्गा जुधाएर आगो पार्छन् । नाकझोङ, धामी, येवा, बिजुवाले दलसिङ ढुङ्गा हातमा लिई मन्तरेर  बोक्सी डायनीहरू, प्रेतात्माहरूलाई हान्ने गर्छन् ।

***
रारा ताल
Embedded image permalink

Saturday, January 16, 2016

(किरात लोककथा) माङदुङलेङमा

किरात लोककथा
माङदुङलेङमा
संकलन — वर्तमान
संक्षेपिकरण— सरण राई
उहिले किरात वस्तीमा एकजना जालाहारी बस्थ्यो । माछा मार्नु अनि बजारमा माछा बेचेर जीवन गुजारा गर्नु उसको पेशा थियो । ऊ दयालु भएकोले छरछिमेकीहरूलाई माछा बाड्थ्यो । सबैसँग राम्रो व्यवहार गर्ने हुनाले उसलाई सबैले मन पराउथे । तर त्यसको ठीक विपरित उसकी स्वास्नी टुमाउटी, झगडालु, कुरौटी र चिच्चा थिई । कहिले कसैलाई केही पनि दिन्नथि । उसको यस्तो बानीबेहोराले उसले सबैलाई शत्रु बनाएकी थिई ।
रातदिन खोलामा माछा मारीरहने हुँदा आफ्नी स्वास्नीको यस्तो बानीबेहोरा जालाहारीलाई थाहा थिएन । ऊ बजार जान नसकेको दिन उसकी स्वास्नी बजार जान्थी । नबिकेको माछा बाड्नुको सट्टा कुहाएर सुँगुर र कुख्रालाई दिन्थी ।
रातदिन पानीमा भिजेर कडा काम परिश्रमले गर्दा जालाहारी बिरामी भयो । बिरामी भएको थाहा पाएर छिमेक र गाउँलेहरू उसलाई भेट्न आए । तर उसकी पत्नीले आँगनबाटै सबैलाई फर्काउथी । अब गाउँलेहरू भेट्न आउँन छाडे । जालाहारीको मृत्यु भयो ।
जलाहारीको मृत्यु भएको गाँउलेहरूले थाहा पाए तर कोही मलामी आएनन् । जालाहारीकी स्वास्नी रुनकराउन थाली तर गुहार माग्न जान सकिन । गाउँलेहरू आज आउलान्, भोलि आउलान् भन्दाभन्दै लास कुहिन थाल्यो । स्वास्नीले लासलाई डोको र जालले छोपी । (लास कुहेर त्यहाँ च्याउँ उम्रियोभने उसको आत्मा माङदुङलेङमा भएर रह्यो । आजभोलि पनि त्यस खाले च्याउँ पाइन्छ जुन च्याउँ डोको र जालले छोपिएकोजस्तो हुन्छ ।)
आफ्नो लास उठाउन कोही आउँछ कि भनेर माङदुङलेङमा लेङ लेङ लेङ... गर्दै कराउँन थाल्यो । तर कोही नआएपछि माङदुङलेङमा कराउँदाकराउँँदै जङ्गल पस्यो, जङ्गलमा पनि कराउन छाडेन ।
माङदुङलेङमा कराउँदाकराउँदै आफ्नो लास उठाउन कोही आउँछ कि भनेर बीच बीचमा अडिएको हो भनिन्छ । यो किरा साउन–भदौतिर कराउँनु र कराउँदाकराउँदै रोकिनुप्रति किरातहरू यही कुरालाई विश्वास गरेर कथा भन्ने गर्छन् ।
२०७२ माघ ३, धरान
साभार— हेछाकुप्पा (किरात लोककथा) , नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान (२०५७)
http://pyaarosansaar.blogspot.com/

Friday, January 1, 2016

(किरात लोककथा) ठूब्यूमा चरी

किरात लोककथा
ठूब्यूमा  चरी
संकलक— शिवकुमार श्रेष्ठ
संक्षेपिकरण— सरण राई

उहिले माझकिराँतमा ठूब्यूमा नाम गरेकि अत्यन्त राम्री तरुनी थिइन् । तिनको एकजना युवकसँग विवाह भयो । त्यो युवकको सातजना दाजु भाई थिए र विवाहपछि ठूब्यूमाको सातजना जेठानी–देउरानी भए ।
 ती सातजना जेठानी–देउरानीका एक एकवटा छोरी थिए भने ठूब्यूमाको चाहीँ छोरा जन्मेको थियो । त्यसैले जेठानी–देउरानीहरू ठूब्यूमाको छोराप्रति साह्रै ईष्र्या र रिस गर्दथे ।
एकदिन ठूब्यूमाको जेठानी–देउरानीहरूले सल्लाह गरेर ठूब्यूमालाई भने “नानीको आमा भएकोले हामी सफा सुग्घर भएर बस्न पाउँदैनौँ , सधैं फोहोरी देखिन्छौँ । त्यसकारण दिसा पिसाब फोहोर मैला गर्ने नानीहरूलाई खोलामा बगाई दिऊँ । अनि हामी सबै सफा सुग्घरसँग बसौँ ।’’
जेठानी–देउरानीहरूको कुरामा ठूब्यूमाले पनि सही थापिन् । एकदिन ठूब्यूमा र तिनका सातजना जेठानी–देउरानीहरू आ–आफ्ना नानीहरू बगाउन खोलामा गए ।  ठूब्यूमाले आफ्नो नानीलाई गुन्द्रीमा बेरेर लगिन् र खोलामा बगाइन् ।  तिनका सातजना जेठानी–देउरानीहरूले भने थाङ्नाको बालक बनाई गुन्द्रीमा बेरेर लगेका थिए र त्यसलाई बगाए । त्यसबेला ठूब्यूमाले जेठानी–देउरानीहरूले कपट गरेको कुरा थाहा पाउँन सकिनन् ।
घर फर्केर आएपछि हेर्दा ठूब्यूमाले आफ्ना जेठानी–देउरानीहरूका नानीहरू कोक्रोमा खेलिरहेका देखिन् । आफ्नो छोरालाई खोलामा बगाएकोमा ठूब्यूमालाई ठूलो पश्चात्ताप भयो र “सिब्यू ! सिब्यू ! सिब्यू ! (नानी  ! नानी ! नानी  ! )’’ भन्दै रुँदै हिड्न थालिन् ।
ठूब्यूमाले बगाएको छोरालाई खोलाले बगाएर एउटा ठूलो दहमा पु¥यायो र धेरै दिनसम्म त्यही डुबि रह्यो । दहका पानी सङलो थियो । ठूब्यूमा प्रत्येक दिन आफ्नो छोरा हेर्न त्यस दहमा जान्थिन् र धेरै बेरसम्म छोरालाई हेर्थिन् । फर्कदा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै आउथिन् ।
यसरी धेरै दिन बितेपछि वर्ष लाग्यो र पानी प¥यो । ठूलो बाढी आयो र ठूब्यूमाको छोरालाई बाढीले बगाइ लग्यो । भोलिपल्ट पानी धमिलो भएको  र छोरालाई समेत बाढीले बगाइ सकेकोले आफ्नो छोरालाई ठूब्यूमाले  देख्न पाइनन् । यसरी आफ्नो छोरालाई नदेखेपछि ठूब्यूमा “सिब्यू ! सिब्यू ! सिब्यू !’’ भन्दै रुँदै कराउँदै घर फर्किन् र त्यही रात प्राण त्यागिन् ।
अर्को जन्ममा ठूब्यूमा चरी भएर जन्मिन् । आजभोलि पनि जब जब पानी पर्छ र बाढीले खोला धमिलो हुन्छ त्यो चरी “सिब्यू  चुक चुक ( नानी छोरा ज्याहै ज्याहै)’’ भन्दै कराउँछे  । यसरी आज पनि त्यो चरी कराउँदा नानीहरूको सातो जान्छ भन्ने माझकिराँतमा विश्वास गरिन्छ । त्यसैले ठूब्यूमा चरीलाई ‘सातो बोक्ने चरी’ भन्ने प्रचलन  आज पनि रहेको छ ।

साभार— किराँती लोककथा सँगालो
२०७२ पौष १७ (जनवरी १ , १०१६)

Sunday, December 27, 2015

(तुर्कमानी लोककथा) बुद्धिमान केटो

(तुर्कमानी लोककथा)
बुद्धिमान केटो

अनुवादक— सरण राई

एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँँग धेरै नोकर  चाकरहरू पनि थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु पर्यो  । सबैजना नाउमा बसेर नदी तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ढुङ्गामा ठोक्कायो । नाउ टुक्रा टुक्रा भयो ।
मनिसहरू डुबे । तन्नेरी नोकरह्रूमध्ये एकजना मात्र बाँच्यो । ऊ नाउको एउटा टुक्रा समातेर किनारामा नपुगुन्जेल पौडी रह्यो । किनारामा पुगेपछि ऊ जता पायो उतै गयो ।
टाढैबाट एउटा नगर देखियो । युवक त्यतैतिर गयो । जब ऊ नगर पस्ने ढोकाछेउ पुग्यो, मानिसहरूको एउटा हुलले उसलाई समातेर नगरमा लग्यो । “तिनीहरूले मसँग कस्तो व्यवहार गर्छन् होला ?” डराउदै उसले सोच्यो ।
त्यो नवयुवकलाई उनीहरूले नयाँ लुगा लगाइदिए र राजसिंहासनमा बसाए ।
”यो के गरेको होला ? यसलाई के सम्झनुपर्ने हो ?” उसले आफ्नो वरिपरी जम्मा भएका मानिसहरूलाई सोध्यो ।
”हाम्रो देशमा यस्तै प्रथा छ”, सेतो दाह्री भएको एक जना भलादमी बूढाले जवाफ दियो, “जब राजाको राज्य अवधि सकिन्छ, र हाम्रो यहाँ यो एक वर्षको हुन्छ, तब राजालाई हामी पहाडतिर लान्छौँ, जहाँ सर्प–बिच्छुहरूको बस्ने ढिस्काहरूले भरिएको खाडलहरू छन्, र उसलाई त्यहाँ सर्प र बिच्छुहरूले टोकेर मर्नका लागि फ्याकि दिन्छौँ । त्यसको ठाउँमा जो नगरको ढोकामा सबैभन्दा पहिला आउँछ, उसैलाई सिंहासनमा  राख्छौँ । यस पटक हामीले तिमीलाई भेट्यो, यसकारण तिमीलाई हाम्रो राजा बनाएका छौँ ।”
“यसको माने यो भयो कि जबसम्म म राजा रहनेछु”, शान्त भएर युवकले सोध्यो, “म जे चाहन्छु गर्न सक्छु ।”
“पक्का हो”, भलादमीले जवाफ दियो, “एक वर्ष सबै तिम्रो हातमा छ ।”
आफ्नो शासनको थालनी नै युवकले त्यो डरलाग्दो पहाडको आक्रमणबाट शुरु गर्यो  । उसले एउटा ठूलो सेना जम्मा ग¥यो र सर्पहरू र बिच्छुहरू मात्र नभएर उसले त्यस पहाडमा भएका सबै हिंस्रक जीवजन्तुहरूलाई सखाप पा¥यो । यसपछि त्यहाँ कुलो खन्ने र बगैचा लगाउने आदेश दियो र त्यहाँ नगर बसायो । जब उसको राज्य गर्ने अवधि समाप्त भयो, मान्छेहरूलाई त्यो डरलाग्दो ठाउँको सम्झना समेत रहेन । मानिसहरूले आफ्नो राजाको काम देखेर उसलाई फेरि छाने । यस प्रकार ऊ धेरै वर्षसम्म बाँच्यो र आफ्नो प्रजाको भलाईको लागि थुप्रै राम्रा कामहरू गर्यो  ।


साभार–‘तुर्कमनी लोक कथाएं’ रादुगा प्रकाशन, मास्को, १९८२ ई.सं.
जुम्ला सदरमुकाम खलंगामा  हिउँ परिरहँदा गन्तव्यतिर लम्किरहेका स्थानीय। तस्बिर : डीबी बुडा Embedded image permalink

( महावाणी ) सुख के हो ?

संकलक–रवीन्द्र वांगड
अनुवादक– सरण राई


* सुखका एउटा ढोका बन्द हुँदा अर्को खुलेको हुन्छ । तर हामी कहिले कही बन्द भएको ढोकालाई यति धेरै समयसम्म हेरिरहन्छौँ कि खुलेको ढोका देख्न सक्तैनौँ ।
                                —हेलेन केलर

* मलाई आश्चर्य लाग्छ कि सुखको मनोकामना गर्नु पनि मेरो दुःखको अटुट भाग भएको छ ।
                —खलील जिब्रान

* सुख दिने कुराहरू पहिले पनि थिए र अहिले पनि छन् । फरक यो छ कि जुन व्यक्ति सुखको मोल पहिले तिर्छ  र त्यसको आनन्द पछि लिन्छ, उसले धेरै स्वाद पाउँछ । जसले सुख सजिलै पाउँछ, उसको निम्ति सुख नै मृत्यु हो ।
—    रामधारीसिंह दिनकर

* मनिसलाई सुखको पीर र अल्सिले चौपट बनाउछ ।
—शौपनहावर

* सुखले भाग्यमानी मानिसको परीक्षा लिन्छ भने संकटले महान् मानिसको ।
—प्लिनीद यंगर

* धरतीमा फूलहरू एकअर्कासित इष्र्या गर्दैनन् जबकि उनीहरू एक अर्कोभन्दा सुन्दरता र खुबीहरूले भरिएका हुन्छन् । उनीहरू एक अर्काको छिमेकमा बस्दछन् र एकअर्काको खुबीहरूबाट सुख पाउँछन् ।
—    जेकब बोह्मी

* त्यही मानिस सुखी हुन्छ जो मानसिक अशान्ति बीना साँचो सिद्धान्त र आदर्शमा हिड्दै आफ्नो गन्तव्य तय गर्छ ।
—ऐस्ट्रँज

* सुख असल गुणद्वारा उत्पन्न गर्न सकिन्छ र यसको लागि  यो आवश्यक हुन्छ कि यसको निर्माण सत्यको जगमाथि गरिएको होस् ।
—    काँलरिज

* अरूलाई सुख दिँदा हामी यति धेरै सुख पाउँछौँ कि हामी उसलाई धन्यवाद दिन मन पराउछौँ ।
—    हेनरी द मौतरलां

***
  (स्रोत - नवनीत, वर्ष ३२, अङ्क १२, दिसम्बर, १९८३)Embedded image permalink

(लघु कथा) राखन

लघु कथा
राखन
सरण राई
माइला र माइली आफूसित भएको थोरै जग्गा जमिनमा धेरै परिश्रम गरेर जीवन निर्वाह गरीरहेका थिए | प्रसस्त सम्पति नभए पनि माइलीको हंसमुख स्वाभावले गाउँलेहरु उनीहरुको घरमा अाईरहन्थे | जे जस्तो खाने चिज छ ,खुसी हुदै माइली खान दिन्थिन् |
माइलीको आथित्य सत्कारबाट गाउँलेहरु खुसि हुन्थे र आफुले सकेको मदत गर्न चाहन्थे | माइला भने उसको सबैलाई खान दिने बानी देखि खुसि थिएन | माइली एक्लै भएको बेला भन्थ्यो _ "त्यसरी खाने कुरा नबाँड, हामीलाई नै खाने कुराको अभाव छ |"
रहदै बस्दा उनीहरुको पनि छोरा छोरीहरु जन्मिए , हुर्किए र बिहेवारी गरेर बेग्लाबेग्लै बस्न थाले |
एकदिन सिकिस्त बिरामि भएर माइली परमधाम गईन् | माइला बुदेसकालमा एक्लो भयो | उसलाई हेरचाह गर्ने कोहि थिएन | सकेको बेला पकाएर खान्थ्यो नभए भोकै बस्थ्यो |सार्है भोकाएको बेला भने ऊ गाउँलेहरुको घर जान्थ्यो | जसको घर गएपनि "माइलीले हामीलाई कति खाने कुराहरु दिएकी थिइन् ' भन्दै उसलाई अघाउन्जेल खान दिन्थे |
यस्तो देखेर माइली जीवित हुँदा उसले खाने कुराहरु गाउँलेहरुलाई दिँदा रिसाउने माइला सोच्न पुग्छ ," माइलीले त अनेक खाने कुराहरु गाउँलेहरुलाई बाड़ेकी होइन रहेछ , मेरो लागि पो ति खाने कुराहरु राखन धारनमा राखी छाडेकी रहेछिन्, जो गाउँलेहरुले अहिले मलाई दिई रहेका छन् |"


२०७२ असोज १७ , धरान

(तुर्कमनी लोककथा) भाग्य र स्त्री

तुर्कमनी लोककथा
भाग्य र स्त्री
अनुवादक– सरण राई


एउटा परिवारमा तीनजना बुहारीहरू थिए । उनीहरू खुसी थिए र एक आपसमा मिलेर बसेका थिए । एक दिन उनीहरू सबैको साझा भाग्य जेठी बुहारीकोमा गयो र भन्यो :
“प्यारी, तिमी मसित जे चाहन्छौ माग, किनकि म यहाँबाट जाँदै छु ।”
“ठीक छ”, जेठी बुहारीले भनी “ मलाई धेरै धेरै धन दिनुहोस्, त्यसपछि जता जानु छ जानुहोस् ।”
भाग्यले उसलाई उसले मागे अनुसारको सबै कुरा दियो र माइली बुहारीकोमा गयो ।
“प्यारी”, उसले भन्यो, “ मैले यहाँबाट जानु छ । त्यसकारण बिदा हुनुभन्दा अगाडि जे चाहन्छौ मसँग माग ।”
“ठीक छ,” माइली बुहारीले भनी, “यदि जाँदै हुनुहुन्छ भने मलाई धेरै धेरै पैसा दिनुहोस् ।”
“राम्रो”, भाग्यले भन्यो । उसले माइली बुहारीको इच्छा पूरा गर्यो  र कान्छी बुहारीकोमा गयो ।
“प्यारी, मैले तिम्रो देश छाडेर जानु छ ।” उसले सानो बुहारीलाई सूचना दिँदै भन्यो,“छोड्नुभन्दा पहिला म तिमीलाई तिमीले चाहेको सबै कुरा दिन्छु, सुन चाहन्छौ सुन, चाँदी चाहन्छौ चाँदी ।”
“अपशोस, तपाईँ हामीलाई छाडेर जानु हुँदै छ ।” सानी बुहारीले  साँच्चै दुःखी  भएर भनी, “मलाई न सुन चाहिन्छ, न चादी, न धन । यदि हुनसक्छ भने हामीलाई स्वास्थ्य र मेलमिलाप दिनुहोस् । बाँकि अरु हामी आफै  खोज्नेछौँ ।”
“यदि तिमी यति मात्र मागिरहेकी छ्यौ भने,” भाग्यले भन्यो “मैले अन्त जानुपर्ने आवश्यकता नै रहेन । म सायद सधैंको लागि तिम्रै झुपडिमा नै बसिरहुँला ।”
 ठुला बुहारीहरूले आफ्नो सबै धन खर्च गरेर सके । उनीहरू प्रायजसो सानी कान्छी बुहारीसँग मदत माग्थे र सानो बुहारीले उनीहरूलाइृ कहिल्यै निराश पारीनन् ।

श्रोतः तुर्कमनी लोक कथाएं, रादुगा प्रकाशन, मास्को , सन १९८२



human evolution stages

(प्रेरक प्रसङ्ग) सुकरात र एेना

डा. गोपालप्रसाद ‘वंशी’
अनुवादक– सरण राई



सुकरात अत्यन्त कुरूप थिए । र पनि ऐना आफुसित सधैं राख्थे  र बारम्बार ऐनामा आफ्नो अनुहार  हेरिरहन्थे । यस कुरामा एकजना साथीले अचम्म मान्दै उनलाई यसरी ऐना हेर्नुको कारण सोधे र उनले यस्तो जवाफ दिए— ‘म  सधैं यो सोचिरहन्छु कि मैले राम्रो कामहरू धेरै गरेर मेरो कुरूपताको प्रतिकार  गर्नु पर्छ । ऐना बारम्बार हेरिरहदा मलाई यो कुरा सम्झिरहन मदत मिल्छ ।’
यस सन्दर्भमा सुकरातले अर्को कुरा पनि थपे— ‘जो सुन्दर छन् उनीहरूले पनि बारम्बार ऐना हेरिरहनु पर्छ र सम्झिरहनु पर्छ कि यो इश्वरले दिएको सौन्दर्यमा कतै मेरो कुकृत्यले कालो दाग–धब्बा नलागोस् ।’

  (नवनीत,वर्ष ३७, अङ्क ५,मई, १९८८ बाट)
* * *

(किरात लोककथा) हेछाकुप्पा

(किरात लोककथा)
हेछाकुप्पा
प्रस्तुति – सरण राई

टुहुरो हेछाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले ।
जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले  खोक्ली साक्की (बन तरुल)लाई पाताल भसाई । गिठ्ठा भ्याकुरमा खक्पा(तितो) छर्केर तीतो बनाई । त्यसपछि ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो ।
दिदीहरू बुचुकुलक (माटोको सानो भाडो)मा लोहोरो उसिनी राखेर खानेकुरा खोज्न ठाढा गए । हेछाकुप्पा खाने कुरा पाक्दै छ भन्ने सम्झदै र लोहोरोलाई छाम्दै निकै समय पर्खेर बस्यो । जति पर्खदा पनि नपाकेको देखेर ऊ निराश भएर भोकले लड्यो । लड्दा तातो पानी उसको जीउमा पर्यो  । भोक, निराश र तातो पानीले ऊ मरेझैँ बेहोश भयो ।
दिनभर तायामा र खियामाले  जङ्गलमा खानेकुरा खोज्दाखोज्दा बल्ल बल्ल बनकेरा भेट्टाए । बेलुका घर आउँदा उनीहरूले भाई हेछाकुप्पा मरेको पाए र ज्यादै दुःखी भए ।
तायामा र खियामाले हेछाकुप्पालाई बाहु(बाँस) र केराको पातमाथि राखेर चिहानमा राखे । भाईको शरिरछेउ कर्द र एक कोसा केरा राखि दिए । उनीहरूले भाईको नाममा एक एकवटा फूल रोपेर छुट्टिने सल्लाह गरे ।
दिदी बहिनी आफूले रोपेको फूल बेलामौका हेर्न आउने र त्यसैबाट आफ्नो अवस्था थाहा पाउने सल्लाह गरि रुन थाले । तायामाको आँखाबाट बगेको आँसुले रावाखोला र खियामाको आँखाबाट बगेको आँसुले तावाखोला बन्यो रे । उनीहरूले  नेवालाककला डाँडामा पुगेर चरा  बनी उडेर जाने सल्लाह गरे ।
तायामा डाँडाको टुप्पामा पुगेर धेरै दिन पर्खदा पनि बहिनी खियामा आइ पुगिनन् । केही भयो कि भन्ने शङ्का गरेर तायामा भाईको चिहानसम्म खोज्दै पुगिन् । चिहानमा खियामाले रोपेको फूल ओइलाएको देखेर तायामालाई केही नराम्रो भएको शङ्का लाग्यो  र बहिनीलाई बाटो, जङ्गल सबतिर खोज्न थालिन् ।
“ए रुख ! खियामा कहाँ छिन् " रुखले थाहा नभएको कुरा बतायो । ढुङ्गालाई सोध्दा ढुङ्गा बोलेन । जङ्गलमा होङ्ग्रायोलाई भेटेर तायामाले सोधिन्— “ए होङ्ग्रायो, खियामा कहाँ छे ?’’
होङ्ग्रायो केही बोलेन । तायामाले जिद्दी गरेर सोद्धा होङ्ग्रायो हाँस्यो । हाँस्दा होङ्ग्रायोको मुखभित्र खियामाको केश तायामाले देख्यो । केर्दाकेर्दा होङ्ग्रायोले  खियामालाई  मारेर खाएको स्विकार्यो  ।
“त्यसो भए बहिनीको हाडहरू कहाँ छ ?” भनेर तायामाले सोद्धा रुखको टोडका देखायो । तायामाले बहिनीको हाडखोरहरू जम्मा गरेर नेवालककला डाँडामा पुगेपछि हाडखोरलाई तेलले भिजाइन्  र खरानीपानीसँग  बाँसको ढुङ्ग्रोमा राखिन् । बहिनीको हाडखोर राखेपछि मुन्धुम र रसिया गाउँदै तायामाले तान बुन्न थालिन् । तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन् । जति जति अनुहारको बुट्टा तानमा बनिन्थ्यो, उता खियामाको अनुहार र शरिर हाडखोरमा त्यसै गरी बन्न लाग्यो । तायामाले केही दिनमा खियामाको अनुहार र शरिर बुनिसक्दा होङ्ग्रायोले खाएको खियामा बिउतिन् ।
त्यसपछि तायामा र खियामाले भाईको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले । एकोहोरो गाउँदा गाउँदै  उनीहरू चरा बने । चरा बनेकी तायामा उत्तर लागिन् र हिमालछेउ युच्छुबुङ फूल भएर फुल्न थालिन् । बहिनी खियामा दक्षिणतिर मधेश पुगेर गोआबुङ बनेर फुल्न थालिन् । यसरी तायामा र खियामा मानिस नभएर कहिले चरा कहिले फूल भएर फुल्न थाले । भनिन्छ, असोज महिनातिर लाम्कुचेप्पा झरी परेको बेला युच्छुबुङ फूल मधेश झर्छिन् । युच्छुबुङ फूल र गोआबुङ फूलहरू विगत र भाई हेछाकुप्पाको सम्झना गरेर धेरै धेरै रुन्छन् रे । युच्छुबुङ र गोआबुङको मिलन हुने बेलामा रावाखोला र तावाखोलामा पनि अन्तिम भेल बग्छ रे ।
तायामा र खियामा नेवालाककला डाँडा गए पछि हेछाकुप्पा चिहानबाट बौरियो । बौरिदा एक कोसा केरा र कर्द बाहेक अन्य केही पाएन । उसलाई  भोक लागेको थियो । ऊ चिहानबाट उठेर केरा र कर्द लिएर निस्कियो । बाहिर निस्किए पछि  केरालाई कर्द देखाउदै भन्यो— “ए केरा ! बोट हुन्छस् कि यही कर्दले काटौ ?”
हेछाकुप्पाको कुरा सुने पछि केराको कोसा बोट भयो । उसले फेरि भन्यो— “ए बोट, छिटो पसा, नत्र यही कर्दले छिनाइ दिउला ।”
छिनभरमै केराको बोट पसायो । बोटमा चढेर हेछाकुप्पाले भन्यो— “ए पसाको केरा, छिटो पाक् नत्र यही कर्दले छिनाइ दिउला ।” पसाको केरा तत्कालै पाक्यो । ऊ खुट्टा हल्लाइहल्लाइ केरा खान थाल्यो । जति खाए पनि केरा पसाएको पसाएकै गर्न थाल्यो । हेछाकुप्पा केरा खाइरहेको बेला चाक्लुङधिमा आइपुगी ।
“ए हेछाकुप्पा, मलाई पनि केरा देऊ न ।” उसले केरा टिपेर चाक्लुङधिमालाई  दियो । यही मौका पारेर चाक्लुङधिमाले हेछाकुप्पालाई हात समाती तानी झार्यो  र थुन्सेमा राखेर घरतिर लाग्यो । बाटोमा थुन्से बिसाएर चाक्लुङधिमा दिशा गर्न गई । यही मौकामा हेछाकुप्पा थुन्सेमा ढुङ्गा राखि भाग्यो । घर पुगेर थुन्से हेर्दा ढुङ्गा मात्र देखेर चाक्लुङधिमा फेरि केराको बोट भएको ठाउँ पुगी । त्यहाँ हेछाकुप्पा खुट्टा हल्लाईहल्लाई केरा खाइरहेको थियो ।
“ए बाबु मलाई पनि केरा देऊ न ।” चाक्लुङधिमाको कुरा सुनेपछि हेछाकुप्पाले भन्यो— “तँ राक्षसनीलाई दिन्नँ ।”
“त्यसो नभन न । म भोकले मर्न आँटे ।” चाक्लुङधिमाले आँसु खसाई । केटाकेटीको मन न हो, पग्ल्यो र एक कोसा केरा भुँइमा फ्याकि दियो । चाक्लुङधिमाले भुँइमा झरेको केरा खान मानिन ।
“हेर बाबु, भुँइमा झरेको खाने कुरा म कहिल्यै खान्नँ । हातैले देऊ न ।”
“निकै बाठी हुन खोज्छेस् । फेरि समातेर लैजाउला भन्दी होस् ।” हेछाकुप्पाको कुरा सुनेपछि चाकलुङधिमाले भनी—“तिमीलाई त्यस्तो लाग्छ भने खुट्टाले नै देऊ  न ।” हेछाकुप्पाले खुट्टामा केरा राखेर दिदा चाकलुङधिमाले समातेर उसलाई घर पुर्यायो  । घरमा  छोरीलाई बोलाएर भनी— “ए श्रीथुङमा, मीठो शिकार ल्याएको छु । पकुवा बनाउनु । म तेरा मामाहरूलाई बोलाएर ल्याउछु ।” चाकलुङधिमा माइतीघरतिर लागी ।
श्रीथुङमाले खडकुलोमा पानी उमाल्न थाली । खुकुरी ल्याएर हेछाकुप्पालाई थुन्सेबाट निकाली मार्न लाग्दा हेछाकुप्पाको घुङरिएको केश देखेर सोधी— “ए केटा, कसरी तेरो यति राम्रो केश भयो हँ ?” हेछाकुप्पाले आफु उम्कने यही मौका हो भन्ने सोचेर भन्यो— “ उम्लिएको तेल टाउकोमा खन्याउनु पर्छ । यस्तो भइहाल्छ नि ।”
दुवैले मिलेर तेल उमाले । श्रीथुङमा पिरामा बसी । भकभक उम्लिएको तेल हेछाकुप्पाले श्रीथुङमाको तालुमा खनाइ दियो । श्रीथुङमा तत्कालै मरी ।
हेछाकुप्पाले श्रीथुङमाको कपडा ओड्यो ।  श्रीथुङमाको लाश टुक्रा टुक्रा पारेर मासु पकायो । चाकलुङधिमा माइतीहरूलाई लिएर आइपुगी । उसले श्रीथुङमालाई बोलायो । तलामाथिबाट हेछाकुप्पा श्रीथुङमाकोजस्तो स्वर बनाएर बोल्यो ।
 चाकलुङधिमा ढोकाछेउको डुँडको रगत पिएर मात्यो । माइतीहरूलाई मासु खान दियो । माइतीहरूपनि मासुले मात्न थाले । केही बेरपछि माइतीहरू आफ्ना घर गए । चाकलुङधिमा भने मातेर सुत्यो । यही मौकामा बदला लिन पर्यो  भन्ने सोचेर हेछाकुप्पा केश कोर्ने थाँक्रो, कोदोको पिठो र अण्डा  गोजीमा राखेर चाकलुङधिमाको आँखामा खोटो टाँसि घरको धुरीमा चढ्यो र कराईकराई भन्न थाल्यो— “छाओ सा चाकाबा (छोरीको मासु खाने), छाओ सा चाकाबा ।”
यो सुनेर चाकलुङधिमालाई छोरीको मासु खाएको शङ्का लाग्यो र आँखा खोल्न खोज्यो । आँखा खोलिएन । उसले कोङबी(खुर्पा)ले आँखा ताछी, आँखा खोलियो तर दुवै आँखाबाट रगत बग्न थाल्यो । चाकलुङधिमालाई रिस उठ्यो र हेछाकुप्पालाई खान धुरी चढी । हेछाकुप्पा उसलाई जिस्काउदै हाम फाल्यो र भाग्यो । चाकलुङधिमा लखेट्न थाली ।
हेछाकुप्पालाई चाकलुङधिमाले भेट्न भेट्न आटेको बेला उसले थाँक्रो फ्याकि दियो । थाँक्रो घनघोर जङ्गल भयो । यही मौकामा हेछाकुप्पा धेरै पर पुग्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । धेरै दिनपछि चाकलुङधिमाले भेट्न भेट्न आँटी । हेछाकुप्पाले कोदोका पीठो फ्याकि दियो । कोदोका पीठो हुस्सु कुहिरो भयो । हुस्सु कुहिरोभित्र चाकलुङधिमा अलमलिइ रही । हेछाकुप्पा भागेर टाढा पुग्यो । चाकलुङधिमालाई त्यो हूस्सु कुहिरो छिचोल्न सात रात सात दिन लाग्यो ।
सात दिन पछि चाकलुङधिमा हेछाकुप्पा भए ठाउँ  आइपुगी । हेछाकुप्पा भाग्न थाल्यो । हेछाकुप्पा भागेको भागै गर्न थाल्यो । चाकलुङधिमा खेदेको खेदै गर्न थाली । फेरि पनि भेट्न भेट्न आँटी । यही समयमा हेछाकुप्पाले अण्डा गोजीबाट निकालेर चाकलुङधिमापट्टि फर्काएर फुटायो । फुटेको अण्डाबाट सुनकोशी बन्यो । अब हेछाकुप्पा सुनकोशी पारि, चाकलुङधिमा सुनकोशी वारि भए । पारिबाट हेछाकुप्पाले जिस्काउदै भन्यो—“छाओ सा चाकाबा, छाओ सा चाकाबा ।”
रिसको झोकमा चाकलुङधिमाले सुनकोशीमा हाम फाली । सुनकोशीले उसलाई बगाएर लग्यो । हेछाकुप्पाले बल्ल सन्चोको स्वास फेर्यो  ।

चाकलुङधिमालाई बगाएपछि हेछाकुप्पा आफ्नो घर गयो । घरमा कोही थिएन । ऊ  एक्लै बस्न थाल्यो । कहिले माछा मार्न कहिले शिकार खेल्न जान्थ्यो । मारेर ल्याएको माछा शिकार एक्लै खान्थ्यो ।
एक दिन हेछाकुप्पा माछा मार्न जाल लिएर खोला गयो  । उसले खोलामा जति पल्ट जाल हान्दा पनि एउटा चिल्लो ढुङ्गा मात्र पर्थ्यो । जति पल्ट फ्याकि दिए पनि उही ढुङ्गा परेपछि त्यस ढुङ्गालाई फुर्लुङ्गमा राखेर घर ल्यायो र चुल्लाको माथिल्लो भारमा राख्यो ।
अघिल्लो दिन माछा नपरेकोले भोलिपल्ट हेछाकुप्पा शिकार खेल्न गयो । घर आउँदा भातभान्सा सबै ठीक पारेर राखेको पायो । हेछाकुप्पालाई अचम्म लाग्यो । तर दिनदिनै हेछाकुप्पा शिकार खेलेर वा माछा मारेर आउँदा उसको घरधन्दा सबै ठीकठाक हुन्थ्यो । घरमा यस्तो पाएपछि उसले सोध्यो— “यसरी मेरो घरमा काम गर्ने को हो र ?”
कोठेबारीमा जङ्गलबाट आएको बादरनी बुढीले यो सुनेर  बसीबसी खान पाइने आशामा जवाफ दिइृ— “मैले हजुर ।”
 हेछाकुप्पाले बादरनीलाई घरमा बस्ने अनुमति दियो । हेछाकुप्पा सधै झैँ जङ्गल र खोला जान थाल्यो । घरमा बसेकी बादरनीले कोठेबारीमा बसेर घरभित्र कसले घरधन्दा गर्दो रहेछ भन्ने चियो गर्न थाली । यसरी चियो गर्दा उसले भारबाट ढुङ्गा खसेको देखी । केही छिनमा त्यो ढुङ्गाबाट उसै उसै राम्री केटी बनेको र त्यस केटीले घरको सबै धन्दाहरू एकै छिनमा सिध्दाई फेरि उही ढुङ्गा भई भारमाथि गएको देखी ।
बेलुका हेछाकुप्पालाई बादरनीले सबै कुरा भनी । हेछाकुप्पाले बादरनीलाई सोध्यो— “उसो भए उपाय बताऊ , अब कसरी उसलाई पक्रने  ?”
“भोलि शिकार खेल्न गएजस्तो गरी मान्द्रोले बेरिएर कुनामा लुक्नुहोस । म सदाजस्तै कोठेबारी जान्छु । त्यही बेला ढुङ्गा खसेर केटी बन्छे  र भान्साको काम गर्न थाल्छे । यसै बेला पछाडिबाट पक्रनुहोस् ।” बादरनी बुढीको कुरा हेछाकुप्पालाई मन पर्यो  ।
भोलि हेछाकुप्पा शिकार खेल्न गएजस्तो गरेर मान्द्रोले बेरिएर कुनामा लुक्यो । बादरनी कोठेबारी चर्न गई । यही मौकामा भारबाट ढुङ्गा झर्यो  । केही बेरमै ढुङ्गाबाट केटी बन्यो  र सदाझै काम गर्न थाली । यही मौकामा हेछाकुप्पाले केटीको कम्बरमा पछाडिबाट पक्रियो । यसरी पक्रिदा केटी झस्कि र भन्न थाली— “लेवा खासाङ्ने (छोड्नुहोस् ) ।”
हेछाकुप्पा केटीलाई हेरेको हेरै भयो । केटी असाध्य राम्री थिई । उसले केटीलाई छोड्दै छोडेन । केटी एकोहोरो भन्दै थिई— “लेवा खासाङ्गने ।”
“तिमी को हौ र?”
     “म रिनाह्वा ह । छोड्नुहोस् भन्या । मेरो कम्बर दुखिरहेछ । जालबाट निकाल्दै फाल्नु भएकोले मेरो सबै जीउ दुखेको दुख्यै छ ।” त्यसपछि प्रेमपूर्वक रिनाह्वालाई छोडि दियो । हेछाकुप्पाले छोएको हुँदा रिनाह्वा फेरि ढुङ्गा हुन सकिन ।
 दुवैले मन परापर गरेको थाहा पाएपछि बादरनीले घरजम गर्ने सल्लाह दिई । दुवै सँगसँगै बस्न थाले । रहदा बस्दा रिनाह्वाले छोरा पाई ।
हेछाकुप्पाले अर्को घर बनाउन जग बनाउन थाल्यो र रिनाह्वालाई  मूल थाम काट्न पठायो । रिनाह्वाले कस्तो खॉबो ल्याउने भनेर सोधिन् । हेछाकुप्पाले माछाको वा चिबेको पुच्छरजस्तो ल्याउनु भन्यो ।
रिनाह्वाले खॉबो ल्याइन् । हेछाकुप्पाले खॉबो राख्ने दुलोमा खॉबो गाड्दा दुलोभित्र पस्दै पसेन । यसो किन भयो भनेर हेर्दा दुलोभित्र आफ्नो छोरा पसेर मरिसकेको रहेछ ।
 हेछाकुप्पा र रिनाह्वालाई  पीर पर्यो । उनीहरूले  अपसगुन किन भयो  भन्नेबारे मामालाई सोध्ने निधो गरे । रिनाह्वाको सल्लाह अनुसार हेछाकुप्पा कुखुराको भाले चढेर मावली गयो ।
हेछाकुप्पा मावली घर पुग्दा सुनकोशीले बगाएको  चाकलुङधिमा नोकर्नी भएर काम गरिरहेकी रहिछ । उसले मामाहरूलाई चाकलुङधिमा राक्षसनी भएको कुरा बतायो । मामाहरूले उसलाई खाजाको पोको  दिएर घरबाट निकालिदिए ।
चाकलुङधिमा रुँदैरुँदै गई । बाटामा उसले खाजा पोकोबाट निकाली । खाजाबाट एकाएक बाघ, भालु, सिंहजस्ता जनावरहरू निस्किए र  चाकलुङधिमालाई खाइ मार्यो । चाकलुङधिमाको भुइँमा झरेको रगतबाट भुसुना, लामखुट्टे, उपियॉ  , जुकाजस्ता किराहरू बने । यसभन्दा अगाडि यस्ता किराहरू थिएनन् । राक्षसनीको रगतबाट बनेको हुँदा नै यी किराहरूले मानिसको रगत खान थालेका हुन् भनिन्छ ।
हेछाकुप्पाले मामाहरूलाई आफ्नो छोरा मरेको कुरा सुनायो । मामाहरूले ‘विवाहको विधि नपुर्याई   छोरा जन्मिएको हुँदा त्यसो भएको हो, त्यसैले विधिपूर्वक विवाह गर्नू’ भनी सल्लाह दिए ।
यो सल्लाह पाएपछि हेछाकुप्पाले घर फर्किने विचार गर्यो  । फर्कन लाग्दा उसलाई मामाहरूले खाजाको पोका दिए । ऊ कुखुराको भाले चढेर घर फर्कियो । बाटामा खाजा खान उसले पोका खोल्यो । त्यो  खाजाको ठाउँमा अपार धनसम्पत्ति थियो । त्यो धनसम्पत्ति लिएर हेछाकुप्पा घर फर्कियो ।
हेछाकुप्पाले सबैकुरा रिनाह्वालाई बतायो । त्यसपछि मामाहरूको सल्लाह अनुसार उनीहरूको विवाह हुने भयो । भनिन्छ, त्यसै समयदेखि किरातहरूको विवाहमा मावलीहरूको सरसहयोगको भुमिका हुन थालेको हो रे ।
हेछाकुप्पाले दिदीहरू तायामा र खियामालाई पनि सम्झियो । उनीहरू अवश्य जिउँदै हुनुपर्छ भन्ने लागेर हेछाकुप्पाले लोलोवेङमालाई चारैतिर खबर गर्न पठायो । तर लोलोवेङमाले खबर ल्याउन सकेन । त्यसपछि यो कामको जिम्मा भालेलाई  दियो । कुखुराको भाले नेवालाककला डॉडामा पुगेर उत्तर र दक्षिण फर्किएर बास्न थाल्यो ।
“कुकुरिका ... हेछाकुप्पाआ  लामियान्, बुत्तियाङ (हेछाकुप्पाले खोज्दैछन्, बोलाउदैछन् )।” उत्तर हिमालछेउ युच्छुबुङ भएकी तायामाले र मधेसमा  गोआबुङ  भएकी खियामाले भालेको स्वर सुने । फूल भएका तायामा र खियामा भालेको स्वर  सुनेपछि चरा भएर नेवालाककला डॉडामा आए ।
भालेको पछि पछि चरा भएका तायामा  र खियामा  उड्दै उड्दै  हेछाकुप्पाको घरमा आए ।
भाईको विवाह हुने देखेर तायामा र खियामा खुशीले रुन थाले । हेछाकुप्पाले उनीहरूलाई घरभित्र आउन बोलाए । तर दिदीहरू चरा बनिसकेकोले घरभित्र आउन मानेनन् । माइती हेछाकुप्पाले चेलीहरूको लागि विशेष सत्कारपूर्वक कटेरा बनाइदियो । भनिन्छ त्यसै समयदेखि किरातहरूको विवाहमा छोरीचेलीहरूलाई विशेष सम्मानसाथ बाहिर राखिएको रे ।
हेछाकुप्पाको विवाहमा मावलीहरूले सरसल्लाह र धनसम्पत्ति दिएर मद्दत गरे । विवाह धुमधामसँग सम्पन्न भयो । विवाहपछि सबै घर गए । तायामा र खियामा पनि माईतीको विवाहपछि कहिल्यै नआउने गरी उडेर आ–आफ्नो ठाउँ  गए । भनिन्छ, यसै समयदेखि उनीहरू फेरि कहिल्यै आएनन् ।
हेछाकुप्पा र रिनाह्वाको जीवन आनन्दपूर्वक बित्यो । उनीहरु  धनसम्पत्ति र मानप्रतिष्ठाले भरिपूर्ण भए । भनिन्छ, यो पृथ्वीमा हेछाकुप्पाले लामो समय प्रतिष्ठापूर्वक शासन गरे रे ।
***

Saturday, December 26, 2015

(बाल कविता) बालक

 (बाल कविता)
बालक


सरण राई


आजको बालक
भोलि राष्ट्र चालक
सही मार्ग निर्देशन
भावी विश्व उत्थान

सानो बालक
भोेलि युग चालक
युगहरूका सुन्दर युग
बालक, छिट्टै त्यहाँ  पुग

फूलको कोपिला
झलमल्ल उज्यालो होला
माधुर्य र सौन्दर्यको प्याला
पिउने पनि बालक चोला

बालक भए बेश
बन्नेछ सुन्दर देश
रमणीय परिवेश
हसिलो रसिलो सन्देश

बालक जहाँ  प्रफुल्ल
बन्छ मुलुक झलमल्ल !